-डिबी खड्का
मनमा परेको चोटमा संगीतले मलमको काम गर्छ । संगीतसँग त्यस्तो शक्ति पनि हुन्छ, जसले केही क्षणका लागि पीर भुलाउन सक्छ । महाभैंचालोले नेपालीको हृदय जलाएको छ । उनीहरुलाई मानसिक चोटबाट केही हदसम्म मुक्ति दिलाउन पनि यतिबेला संगीतले राम्रो भूमिका निर्वाह गर्न सक्छ । तर, बिहानै टेलिभिजन हेर्ने हो भने त्यहाँ सुनिने संगीतले चोट थप्ने निश्चित छ ।
वैरागलाग्दा दृष्य र मन चहर्याउने शब्द–स्वरको प्रकोपबाट पन्छिन च्यानल फेर्न बाध्य हुनुपर्छ । भैँचालोले धेरै क्षति पुर्याएको क्षेत्र (नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र दोलखा)मा गायक भोजराज काफ्ले असाध्यै चर्चित छन् । ‘बोतलको पानीले’ गीतका गायक त्यो क्षेत्रमा असाध्यै रुचाइने काँठे भाकाका लागि प्रसिद्ध छन् । त्यही क्षेत्रका स्रोता भैंचालोको चोटबाट तंग्रिन नसकेकै अवस्थामा उनले गीत ल्याएका छन्, ‘आयो भैंचालो’ । उनको गीत हेर्ने/सुन्नेले ‘संगीतको भैंचालो’को त्रास महसुस गर्छन् । किनभने विरक्तिभाव रहेको संगीतमा शब्द झन् मन घोच्ने खालका प्रयोग गरिएका छन् ।
महाभैंचालोको केन्द्रबिन्दू रहेको गोरखा लोकलयमा रमाउने ठाउँ हो । अहिले टेलिभिजनमा त्यही क्षेत्रमा रुचाइने भाका प्रयोग गरेर सबभन्दा धेरै गीत देखाइन्छन् । युट्युबमा पनि ‘भूकम्प सङ्स’ टाइप गर्ने हो भने लोकलयमैं आधारित गीतहरुकै संख्या ५० नाघ्छ । तर, कुनैपनि गीतले भूकम्पले दिएको चोटलाई सम्बोधन गर्दैनन् । युट्युबमा सबैभन्दा अगाडि कमल विसी नामक गायकको स्वरमा रहेको एउटा भैचालो सम्बन्धि गीत छ । निकै रुचाइएको बिरहको पुरानो भाकामा स्वर र शब्द नयाँ छन् । गीतको भिडियोमा सुरुमैं चौरभरि जलाइएका लास, खण्डहर बस्तिहरुको दृष्य देखाएर भुल्दै गरेको पीडामा नुनचुक छर्किने काम गरिएको जस्तो देखिन्छ । उस्तै हालत छ, मीना अधिकारी नामकी गायिकाले गाएको गीतको पनि ।
एक भैँचालो गीतमा अभिनय गर्दै महानायक राजेश हमाल
दुःखमा ब्यापार
दुःखलाई आफ्नो चर्चा र ब्यापारको माध्यम बनाउनेहरु पनि धेरै छन् । तीमध्य रत्न बानियाँ नामका गायकले गाएको गीतको भिडियोमा ठूलै पुण्य गरेको भानसहित सुरुमैं लेखिएको छ, ‘२०७२ सालको महाभूकम्पमा ज्यान गुमाउनेहरुप्रति समर्पित ।’ उनले गाएको उक्त गीतमा पीर परेको आशयका शब्द छन् । तर, उनले यो दुखलाई आफू चर्चित हुने अवसरका रुपमा उपयोग गरेको भिडियोमा प्रस्टै देखिन्छ । किनभने, भूकम्पले भग्नावशेष बनाएका ठाउँ अघिल्तिर बसेर उनले मोडलिङ समेत गर्न भ्याएका छन् । पीरमा चर्चाका लागि अनुहार देखाउने मोह देख्दा ‘के जाती गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने उखानको याद आउँछ ।
तीजको समयमा ‘कन्याइदेऊ न बाइ’ जस्तो उट्पट्याङ गीत गाएर नेपाली संस्कृतिको हुर्मुत लिएका प्रकाश कटुवाल नामका लोक गायकले भैंचालोलाई समेत चर्चाका लागि ‘सदुपयोग’ गरेका छन् । यसपल्ट उनको गीतले पीडाले बनाएको नकरात्मक मनोदशालाई झन् नकरात्मक बनाउन सहयोग गर्छ । जीवनप्रति नै नकरात्मक भाव फैलाउने गीतमा भनिएको छ, ‘बग्यो बरै रगतको खोला नि, के रैछ र मानवको चोला नि ।’
यी प्रतिनीधि मात्र हुन् । पीरलाई चर्चा कमाउने अवसर बनाउनेहरुमा वालकृष्ण वाग्ले, उमादेवी खनाल, जय देवकोटा, डिआर अटु लगायत यसअघि नामै नसुनेका अरु गायकको ठूलो जमात छ ।
स्वास्थ्य बिगार्ने संगीत
दुःखमा रहेकालाई सम्झाउनु सामान्य मानवीय प्रवृत्ति हो । जसको सामान्य सुझबुझ भनेकै मानसिक आघातबाट चाँडै सामान्य अवस्था ल्याउनु हो । तर, भूकम्प सम्बन्धि गीत ल्याउने अधिकांशले चोट बल्झाउने र जीवनप्रति नकरात्मक बनाउने काम गरेका छन् । संगीत सुखदुःखमैं साथै रहने भएकाले पीरमा रहेकाले पनि सुन्छन् । नकरात्मक भाव फैलाउने र चोट उल्झाउने खालको क्रियाक्लापले मानसिक स्वास्थ्यमा असर पुर्याउने मनोचिकित्सक रवि शाक्य बताउछन् । उनले भने, ‘दुःख पाएको क्षणलाई पटक–पटक सम्झिने किसिमका कुरा गर्नु र त्यस्ता दृष्य देखाउनुले मानसिक रुपमा नकरात्मक असर पुर्याउछ ।’
भैंचालोले धेरैलाई शाररीक तथा मानसिक चोट दिएको छ । जसले गर्दा हरेक मान्छेमा जीवनप्रतिको निराशा बढेको छ । यस्तो अवस्थामा सकरात्मक बिचार पैदा गर्ने खालका क्रियाक्लापहरुमा जोड दिन डा. शाक्य सुझाउँछन् । भन्छन्, ‘अहिले एकातिर ठूलो भैंचालोले दिएको पीर छ भने अर्काेतिर फेरि आइहाल्छ कि भन्ने त्रास । यस्तो अवस्थामा नकरात्मक भाव पैदा गर्ने कुराले डिप्रेशनसम्म पुर्याउन सक्छ ।’ उनका अनुसार संगीतले चाँडै मान्छेलाई छुने भएकाले पनि नकरात्मक भाव रहेका गीतहरुलाई पन्छाएकै राम्रो हुन्छ ।
पाकाको आलोकाँचो काम
भैंचालोलाई प्रसंग बनाएर गीत बनाउने केही बरिष्ठ कलाकार पनि छन् । उनीहरुले सकरात्मक सन्देश फैलाउने प्रयास गरेपनि हतार गरेका छन् । सक्दो चाँडो बजारमा पुर्याउने भागदौडमा चल्तिका कलाकारले गाएका सकरात्मक सन्देश रहेका गीत कर्णप्रिय हुन सकेका छैनन् । अहिलेका चल्तीका संगीतकार वसन्त सापकोटा र गायिका मिलन अमात्यले गाएको गीत ‘आफू मात्र बाँचेर हुँदैन, अरुलाई बचाए पो अर्थ हुन्छ’ संगीतप्रेमीका लागि अर्थपूर्ण हुन सकेको छैन । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यदेखि करिश्मा मानन्धर, दिलिप रायमाझीले समेत अभिनय गरेका छन् । तर, असाध्यै हतार गरिएको गीतमा सुर–ताल र भाव नहुँदा युट्युबमा हेर्ने मंगलवारसम्म ५ सय कटेका छैनन् । आनन्द अधिकारीले लेखेको र रामकृष्ण ढकालले स्वरमा रहेको ‘मन मन जुटौं’मा पनि वरिष्ठहरुको आलाकाँचोपन देखिएको छ । प्रमोद खरेलले पनि यही समयमा गीत बजारमा ल्याएका छन् । तर, उनका गीत पनि युट्युबको मापदण्डमा उभो लागेको छैन ।
संगीत सट्टामा सहयोग
हरेक ब्यक्ति पीर र भयमा रहेको समयमा मन अन्यत्र मोड्ने माध्यमको जरुरी छ । यसमा संगीत सुलभ उपाय पनि हो । तर, भैंचालोकै संगीत सुनेर मन मोड्न सकिने बेला भइसकेको छैन । किनभने भैंचालो आउने त्रास कायम छ । सहयोग गर्न चाहनेले समेत यही त्रासका कारण मन खोलेर पीडितसम्म पुग्न पाएका छैनन् । यो समयमा ५० हजार भन्दा माथि खर्च गरेर एउटा गीत बजारमा ल्याउनु भन्दा त्यो रकम राहत स्वरुप प्रदान गर्दा बढी उपयोगी हुन सक्थ्यो । मान्छेलाई उठाउनका लागि ‘गाउँ गाउँ बाट उठ’ जस्ता गीतले अझै उस्तै काम गरिरहेका छन् । पीर भुलाउन मन पर्ने गीत सजिलै पाइने अनेक विकल्प छँदै छन् ।
(साभार :शुक्रवार साप्ताहिक)