फिल्म प्राविधिकको बिजोग : ‘हामी त जिरोमा आइपुग्यौँ’



–अनिल यादव

महाभैँचालो जाँदा छायाकार शालिकराम दुलाल बुढानीलकण्ठस्थित एक कार्यक्रममा भिडियो खिच्दै थिए । तत्कालै उनले घरमा फोन लगाए । रुवाबासी भइरहेको थियो । कसैले केही बोलेनन् । उनलाई पछि मात्र थाहा भयो– घर भत्किएर परिवारका चारजना सदस्य पुरिएछन् ।

तुरुन्तै गाडी चढेर उनी सिन्धुपाल्चोकस्थित मेलम्चीमा रहेको घरमा पुगे । हजुरआमा, कान्छा काकाको चार वर्षीय छोरा र नौ वर्षीया छोरीलाई भोलिपल्ट मृत अवस्थामा निकालियो । गम्भीर अवस्थामा जिउँदै उद्धार गरिएकी जेठा काकाको छोरीले भने १२ दिनपछि ज्यान गुमाइन् ।
shalikram dulalतस्विर : आफ्नो भत्किएको घर अगाडि छायाकार शालिकराम दुलाल 

May 2015
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

अहिले शालिकराम र उनको परिवार शोक र पीडामा छ । बर्खाअघि नै उनलाई एउटा अस्थायी घर बनाउनुपर्ने छ । परिवारको गुजारा चलाउनुपर्ने छ । तर कसरी ? उनीसँग कुनै उपाय छैन । भन्छन्, ‘भएको अन्नपात, गाईबस्तु सबै पुरियो । हामी त ‘जिरो’ मा आइपुग्यौँ । बिचल्ली भयो । अब घर कसरी बनाउने ?’

काममा फर्कने भनेर अघिल्लो हप्ता उनी राजधानी आइपुगे । ‘फिल्म क्षेत्र त पूरै ठप्प जस्तै रहेछ । दुई–चार महिना त काम नै पाउन गाह्रो होला जस्तो छ,’ उनी भन्छन्, ‘एकातिर घरको पीडा, अर्कातिर कामको । हामी त दोहोरो मारमा पर्यौँ ।’ शनिवार साँझ आएको डरलाग्दो हावाहुन्डरीको बेगले पुराना जस्तापाता र त्रिपालको प्रयोगमा बनाइएको उनको अस्थायी टहरा पनि उडाइदिएपछि ओत लाग्ने छानोको बन्दोबस्त गर्न उनी आइतवार फेरि मेलम्ची फर्किए ।

शालिकराममात्र होइनन्, एक सयभन्दा बढी फिल्म प्राविधिक महाभूकम्पका कारण बिचल्लीमा परेका छन् । कतिपयले परिवारका सदस्य गुमाएका छन् । कतिपयको घर ध्वस्त भएको छ भने कतिपयको बस्न नमिल्नेगरी चर्किएको छ । नेपाल चलचित्र प्राविधिक संघको तथ्यांकअनुसार करिब तीन सय प्राविधिक भूकम्पबाट प्रभावित भएका छन् । जसमध्ये १ सय ३३ जना प्राविधिकको घर बस्न नमिल्नेगरी भत्किएको र चर्किएको छ ।

फिल्म प्राविधिकहरूको आम्दानीको एकमात्र स्रोत भनेको फिल्म नै हो । दैनिक ज्यालादारी र सम्झौताका आधारमा काम गर्ने गर्छन् । घर भत्किएर अन्नपात पुरिँदा समस्या आएको छ नै, त्यसमाथि फिल्म क्षेत्र नै डाँवाडोल भएपछि रोजीरोटी समेत खोसिएको छ । आम्दानीको स्रोत नै अहिले भताभुंग छ । धेरैजसो फिल्मको छायांकन, पोस्ट प्रोडक्सनदेखि प्रदर्शनसम्म अन्योलमा छन् । राजधानीका कतिपय हल अझै सञ्चालनमा आउन सकेका छैनन् । ‘एक त फिल्म प्राविधिक आफैँमा कमजोर क्षेत्र, त्यसमाथि पनि कम्तीमा तीन महिनासम्म फिल्म, टेलिफिल्म र विज्ञापन निर्माण हुने अवस्था देखिँदैन,’ प्राविधिक संघका महासचिव अनन्त तिमल्सिना भन्छन्, ‘यसले प्राविधिकहरूलाई जीवन धान्न समस्या परेको छ । पीडामा रहेकालाई त झन् पीडा थपिदिएको छ ।’
cinematographerतस्विर : छायाकार गणेशकुमार श्रेष्ठ (उनको फेसबुकबाट)

विगत २३ वर्षदेखि फिल्म प्राविधिकका रूपमा कार्यरत क्यामरापर्सन गणेशकुमार श्रेष्ठको पीडा उस्तै दर्दनाक छ । भैँचालाका कारण उनको दाइको ज्यान गयो । ललितपुरस्थित चौघरेमा रहेका दुई घरमध्ये एक भग्नावशेषमा परिणत भयो भने अर्को बस्न नमिल्नेगरी चर्कियो । दाइको निधनसँगै उनका काँधमा आफ्नो परिवारका साथै भाउजू र भतिजीको जिम्मेवारी पनि थपिएको छ । तर, ४५ दिन काम गर्दा ७० हजारसम्म पारिश्रामिक पाउने उनी अहिले फुर्सदिला बनेका छन् । ‘काम गरौँ भने काम नै पाइँदैन, सबै ठप्प छ’, उनी भन्छन्, ‘यही फुर्सदको समयमा अस्थायी घर बनाउन पाए जेनतेन बर्खा त टथ्र्यो । तर पैसा नभएपछि के गर्ने ?’

१२ वर्षदेखि नेपाली फिल्ममा लाइटम्यानको काम गर्ने सकुल बस्नेतको जीवन अहिले अन्धकार भएको छ । भैँचालोले भक्तपुर, ताथलीको घर बस्न नमिल्ने भएपछि अहिले उनको छ जनाको परिवार घरनजिकै पाल टाँगेर बसिरहेको छ । लाइटम्यानको पारिश्रमिक दिनको एक हजार छ । ‘त्यो पनि महिनाको ६–७ दिन काम पाइन्छ,’ उनले भने ‘अहिले त त्यो पनि अनिश्चित भएपछि हाम्रो त बिचल्ली भयो ।’ हालसम्म प्राविधिक संघको एउटा पाल र २० किलो चामलबाहेक अन्य राहत केही नपाएको उनको गुनासो थियो ।

सुटिङमा अरूलाई खाना बनाएर खुवाउने सुमन रोक्कालाई आज आफ्नै घरमा चुलो बाल्न धौ–धौ परेको छ । भूकम्पले धुलिखेलस्थित केराघारीको घर क्षतिग्रस्त भएपछि छजनाको परिवार पालमा जिन्दगी बिताइरहेको छ । भान्सासँगै स्पटब्वईको काम समेत गर्ने उनले दिनको पाँच सय रुपैयाँ पारिश्रामिक पाउने गर्थे । ‘अहिले त त्यो पनि छैन,’ उनले दुःख पोखे । उनी फिल्म ‘भाग सानी भाग’ मा काम गर्दै थिए, जसको छायांकन भूकम्पका कारण रोकियो । ‘सम्झौताअनुसार अझै १० दिन काम गर्न बाँकी छ । छायांकन कहिलेदेखि सुरु हुन्छ, ठेगान छैन । ‘अब चाँडै हुन्छ अन्त काम नगर्नू’ भन्छन् । के गर्ने, गर्ने ? म त अन्योलमा छु,’ उनले भने ।

फिल्मकर्मीले हेरेनन्
उनीहरूका फेसबुक पेज हेर्ने हो भने राहत र उद्धारमा फिल्मकर्मी असाध्यै सक्रिय भएका जस्ता लाग्छन् । तर, आफ्नै परिवारका सदस्यजस्तै रहेका प्राविधिकहरूलाई फिल्मकर्मीले केही गरेका छैनन् । फिल्मकर्मी राहत वितरणमा व्यस्त रहेको भने पनि आफूहरूलाई उनीहरूले नहेरेको गुनासो फिल्म प्राविधिकहरूको छ । सधैँ चर्चाका लागि चर्तिकला गर्ने कलाकारले फिल्म प्राविधिकको अवस्था बुझ्न नचाहेको आरोप पनि उनीहरूले लगाए । ‘केही कलाकारबाहेक अधिकांशले प्राविधिकको पीडामा मलम लगाउन चाहेनन् । ‘हामीले ‘महानायक’ को उपाधि दिएका राजेश हमालले समेत हाम्रो अवस्था बुझेनन्,’ चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले भने ।
कलाकारहरूको विभिन्न समूह अहिले विभिन्न गाउँमा पुगेर अस्थायी घर बनाउने प्रतिबद्धता गरिरहेका छन् । काभ्रेको रामपुर डाँडामा त बनाएर हस्तान्तरणसमेत गरिसकियो ।

१२ वर्षदेखि लाइटम्यानका रूपमा कार्यरत लालसिंह थोकरले प्राविधिकबिना कलाकार सधैँ अपूरो रहे पनि उनीहरूले दर्शकलाई मात्र प्राथमिकतामा राख्ने गरेको भन्दै दुःख व्यक्त गरे । ‘हामी प्राविधिक पर्दापछाडि रहेर कलाकारका लागि जोखिम मोलेर काम गर्छौं । तर, यस्तो आपत् पर्दा उनीहरू राहत लिएर अन्तै गए । हामीलाई आफ्नैले सहयोग नगरेपछि कसले गर्छ ?’ उनको दुखेसो छ । उनको मकवानपुरस्थित कालीटारको घर बस्न नमिल्ने भएको छ । छोरी र श्रीमतीसहित काठमाडौँ बस्दै आएका उनलाई काम ठप्प भएपछि कसरी परिवार धान्ने भन्ने पीर छ । ‘छोरीको विद्यालयको शुल्क तिर्न गाह्रो भइसक्यो । चार महिना काम नपाइएला जस्तो छ । अब के गर्ने ?’ उनी अन्योलमा छन् ।

पाएको काम फुत्कियो
शिव पुरी डकुमेन्ट्री प्रोडक्सनको काम गर्छन् । महाभूकम्प आउनुअघि उनले दुई–तीनवटा विदेशी प्रोजेक्ट हात पारेका थिए । तर, भूकम्प गएपछि नेपालमा असुरक्षित छ भन्दै विदेशीहरू स्वदेश फर्किएपछि उनी तनावमा छन् । ‘तत्काललाई स्वदेशी काम पाउन सक्ने अवस्था छैन । विदेशी काम पनि फुत्कियो । यस्तै हो भने जिन्दगी कसरी चलाउने ?’ उनलाई चिन्ता छ । यही जेठ २५ गतेबाट छायांकनको तयारीमा रहेको आफ्नै फिल्म ‘नवमी नर्देन’ पनि अब अन्योलमा रहेको उनले बताए । जसका लागि उनले विदेशी निर्देशक नियुक्त गरेका थिए ।

धेरै प्राविधिकहरू यसरी भूकम्पको शिकार भएको पुरी बताउँछन् । भन्छन्, ‘हामीजस्ता अप्रत्यक्ष रूपमा प्रभावित भएका प्राविधिक पनि छन् । उनीहरूको पीडा पनि खपिनसक्नुको छ ।’

प्राविधिक धेरै, काम छैन
चलचित्र प्राविधिक संघअन्तर्गत मात्र ९ सय ८१ जना फिल्म प्राविधिक आबद्ध छन् । संघसँग आबद्ध नभई काम गर्ने पनि थुप्रै छन् । फिल्म क्षेत्र ठप्प भएपछि सबै प्राविधिक अहिले बिचल्लीमा परेका संघका महासचिव तिमल्सिनाले बताए । डिजिटल प्रविधि आइसकेपछि फिल्म निर्माणमा प्राविधिकहरूको आवश्यकता ५० प्रतिशतले घटेको थियो । उनीहरू मुस्किलले काम पाउने गर्थे । यस्तो अवस्थामा दैनिक आम्दानीको स्रोत पनि ठप्प भएपछि प्राविधिकमा थप तनाव उत्पन्न भएको तिमल्सिना बताउँछन् । भन्छन्, ‘दैनिक आम्दानीको भरमा गुजारा चलाउने प्राविधिकहरूको कन्तबिजोग भएको छ । उनीहरूलाई कहिले काम सुरु हुन्छ भन्ने चिन्ताले सताइरहेको छ ।’

प्राविधिक संघले के गर्यो ?
फिल्म प्राविधिकको साझा संगठन चलचित्र प्राविधिक संघले २ सय २५ जना भूकम्पपीडितलाई खाद्यान्नसहित त्रिपाल वितरण गरेको महासचिव अनन्त तिमल्सिनाले बताए । ‘हाम्रो सम्पर्कमा आएका पीडितलाई हामीले राहत बाँडेका हौँ । उनीहरूको घर पुनःनिर्माणका लागि चलचित्र विकास बोर्डसँग पहल पनि गरिरहेका छौँ,’ उनले जानकारी दिए ।

यता केही प्राविधिकले अहिलेसम्म न त सरकारी, न त संघको नै राहत पाएको गुनासो गरेका छन् । ‘शोकमा रहेको बेला मैले पनि सम्पर्क गर्न सकिनँ । त्यसैले होला मकहाँ राहत आइपुगेन,’ छायाकार शालिकराम दुलालले भने ।

मेकअप आर्टिस्ट सरोज बुढाथोकी राहत वितरणका क्रममा आफू बाहिर रहेका कारण राहत नपाएको बताए । करिश्मा मानन्धर, दयाहाङ राई, आकाश अधिकारी, दुर्गिश फिल्म्स, गोपीकृष्ण मुभिज लगायतले राहत सामग्री वितरणमा संघसँग हातेमालो गरेका थिए ।

पीडा बिर्संदै काममा
केही फिल्मले छायांकन सुरु गरेसँगै केही पीडित प्राविधिकहरू पीडा बिर्संदै काममा लागेका छन् । मेकअप आर्टिस्ट सरोज बुढाथोकीको भक्तपुरस्थित दुवाकोटको घर बस्न नमिल्नेगरी चर्किएको छ । उनको परिवार अहिले पालको सहारामा छ । सरकारले घर बनाइदिने भनेपछि आशा गरे पनि उनी ढुक्क भने छैनन् । त्यसैले उनी घर भत्किएको पीडा बिर्सिंदै काममा फर्किसकेका छन् । हाल भुवन केसीको फिल्म ‘ड्रिम्स’ मा कार्यरत उनी भन्छन्, ‘आफ्नो घर आफैँ बनाउनुपर्छ । दुःख परे पनि काम त गर्नैपर्छ । त्यसैले काममा लागेँ ।’ म्युजिक भिडियोका लागि काम गर्दा तीन हजार रुपैयाँ पारिश्रामिक लिने उनी फिल्मका लागि भने ८० हजारसम्म लिने गरेको बताउँछन् ।
(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्