कविता: जग खनिरहेको मान्छे



binod bikrm kc -विनाेदविक्रम केसी

म भन्दिनँ–
प्रधानमन्त्री, ढुंगा बोक्न आऊ !
राष्ट्रपति, माटो मुछ्न आऊ !
मन्त्रीहरू, काठ चिर्न आओ !
सभासद्हरू, गारो लाउन आओ !
नेताहरू, तजबिज मिलाउन आओ !
मेरो घर बनाउन
यो देशका ठूला मान्छे कसैलाई गुहार्दिनँ म
न गुहार्छु भारत, चीन र अमेरिकालाई
म आफ्नो घर बनाउन जग खनिरहेको छु
मसँग धरहरा बनाउन गुहार नमाग
किन मान्दैनौ तिमी
मेरो घर सबैभन्दा प्राचीन सम्पदा हो
मेरा पुर्खाका हजारौँ वर्षका
दु:खका गाथा
खुन, पसिना र आँशुका कथा
र संघर्षको इतिहास कुँदिएका छन्
यी एक–एक ढुंगामा
मेरो दु:खको विरासतभन्दा
कति पुरानो हो तिम्रो धरहरा ?
देशको सान धरोहर हो कि
मान्छे ?
देशको शृंगार टुँडाल हो कि
मान्छेको मुस्कान ?
देशको अभिमान मूर्ति हो कि
जिउँदोजाग्दो मान्छे ?
देशको सर्वस्व गजुर हो कि
मान्छेको शिर ?
देशको सम्पदा तेलिया इँट हो कि
धुस्रो मान्छे ?
म आफ्नो घर बनाउन जग खनिरहेको छु
मसँग धरहरा बनाउन गुहार नमाग
मलाई बनाउनु छैन मिनार
देखाउनु छैन तुजुक
म आफ्नै दु:खका सिँढीहरू चढेर
पुग्नेछु उचाइमा
म आफ्नै वेदनाको बार्दली चढेर
नियाल्नेछु संसारलाई ।

साभार: कान्तिपुर कोसेली

प्रतिक्रिया दिनुहोस्