पूर्व ब्रिटिस आर्मी तुलाचनको ‘हाम्रो दाना गाउँ’ सार्वजनिक



रंग खबर, काठमाण्डौं । लामो समयदेखि यूकेमा बस्दै आएका पूर्व ब्रिटिस आर्मी कृष्ण तुलाचनले रचना गरेको ‘हाम्रो दाना गाउँ’ बोलको गीतको म्युजिक भिडियो राजधानीमा सार्वजनिक भएको छ । वरिष्ठ गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गरेका हुन् ।
Cover
दुर्गा परियारको स्वरमा सजिएको गीतमा भागिर सुशलिन मगर र प्रकाश सपुतको संगीत रहेको छ । भोज गुरुङले निर्देशन गरेको भिडियोमा खिम गुरुङको छायांकन, दिलिप रानामगरको कोरियोग्राफी र बालटासी गुरुङको सम्पादन रहेको छ । भिडियोमा यशोदा पुर्जा, करुणा तुलाचन, कल्पना श्रीपाल र कुमारी गुरुङलगायतले फिचरिङ भएका  छन् । भिडियोलाई मुनाल फिल्मस्ले निर्माण गरेको हो ।

भिडियोमा म्याग्दी र मुस्ताङको सिमानामा रहेको दाना गाउँका रमणीय दृश्यलाई प्रस्तुत गरिएको छ । यसबाहेक भिडियोमा विश्वकै सबैभन्दा गहिरो अन्ध गल्छी र दाना गाउँमा रहेको रुप्से छहरालाई पनि देख्न पाईन्छ । गीतकार तुलाचनले आफु जन्मेको ठाउँ दाना गाउँलाई प्रबद्र्धन गर्दै त्यहाँ स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन गीत सिर्जना गरेको जनाए । ‘हाम्रो जिल्लामा रहेका धेरै गाविसका गीत बनिसकेका छन्, गीतकै कारण ती गाउँहरुको प्रवद्धन र विकास पनि भईरहेको छ,’ विगत ८ वर्षदेखि यूकेमा बस्दै आएका तुलाचनले भने,‘राष्ट्रले गाउँलाई चिनाउनु पर्नेमा आफ्नो समुदायका मान्छेहरु आफै गाउँ चिनाउन सक्रिय छन्, त्यसकारण पनि म मेरो गाउँ चिनाउन अग्रसर भएको हुँ ।’ उनले एक वर्ष लगाएर गीत रचना गरेका हुन् ।

समाजसेवालाई विशेष प्राथमिकता दिने गीतकार तुलाचनले यूकेमा फ्रेण्डली ब्रदर दाना सेरोफेरो कम्युनिटमार्फत आफनो गाउँमा रहेको ज्ञान प्रकाश उमाविको विकासका झण्डै १ करोड १५ लाख रुपैंयाँ सहयोग गरेका छन् । २०६८ सालबाट उच्च माविको सम्बन्धन पाए पनि निजी स्रोतबाट प्लस टुका शिक्षकलाई पारिश्रमिक दिन समस्या भएपछि यसै संस्थाको पहलमा हङकङ, यूके र ब्रुनाईलगायतका स्थानमा स्कुलको बारेमा डकुमेन्ट्री बनाएर च्यारिटी शो गरिएको थियो । कोषमा अर्को वर्षसम्ममा दुई करोड रुपैंयाँ जम्मा पार्ने उनको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्