यसरी बसाए धुर्मुस–सुन्तलीले एउटा बस्ती (फोटोफिचरसहित)



-अम्मर जिसी
कोही रङ लाउँदै छन् । कोही सरसफाइमा व्यस्त छन् । एकथरी स्वागतद्वार तयार पार्दै छन् । अर्काथरी भने खाल्टाखुल्टी पुरेर भुइँ सम्याउन लागिपरेका छन् । टन्टलापुर घामको कुनै पर्वाह छैन । कामको संयोजक चुनिएकाहरू अरूलाई निर्देशन दिँदै आफू पनि काममै जोतिएका छन् । निर्माण कार्य अन्तिम चरणमा पुगेको यो बस्तीका गुरुयोजनाकार मध्येका एक सीताराम कट्टेल ‘धुर्मुस’ भने खर्चको बिल हेरेर खनखनी पैसा गन्दै गोजी रित्याउँदै छन् ।
IMG_0405बेहुलीझैँ सिँगारिँदै छ, ‘धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती’ । यसै साता उद्घाटनको लगन जुराइसकिएको यो बस्तीको पूर्वाधार साँच्चीकै नमुना लाग्छ । योजनाकार सीताराम र कुञ्जना घिमिरे यहाँका मान्छेका अनुहारमा तेज आएसँगै आफूहरूको ढुकढुकी ‘सामान्य उन्मुख’ बनेको बताउँछन् ।

हास्य टेलिशृंखला ‘मेरी बास्सै’ र ‘भद्रगोल’ तथा सगुन डट कमको सहकार्यमा निर्माण भएको यो बस्तीमा २० वटा तीन कोठे आकर्षक घर छन् । हरेक घरमा एक–एक ट्वाइलेट, धारा र बगैँचा छन् । ‘होमस्टे’ सञ्चालनका लागि दुइटा पाहुना घर पनि बनेको यो बस्तीमा पाँचवटा बायोग्याँस प्लान्ट जोडिएका छन् ।

यसरी बन्यो योजना
वैशाख १२ गते शक्तिशाली भूकम्पको झट्काले नेपाल हल्लाउँदा धुर्मुस–सुन्तली जोडी अमेरिकामा दर्शक हसाउँदै थिए । ‘नेपालमा शक्तिशाली भूकम्प’ भन्ने खबर सुन्नेबित्तिकै उनीहरू तय भइसकेका थप १७ कार्यक्रम स्थगित गरेर घर फर्कन चाहे । ‘देश रोइरहेका बेला हामीले यहाँ हाँस्नु–हँसाउनु कुनै पनि दृष्टिले सही हुँदैन भनेर बल्लतल्ल आयोजकलाई फकाएर फर्कने भयौँ,’ सीताराम त्यो क्षण सम्झन्छन्, ‘भनेका बेला हवाई टिकट नपाएर धुरुक्कै रुवायो ।’
IMG_0391हप्तादिनपछि स्वदेश फर्कन पाएका उनीहरूलाई सुरुमा त आफ्नै परिवार सम्हाल्न हम्मे प¥यो । भूकम्पकै झट्काले ढलेको दराजले च्यापेर कुञ्जनाकी आमा घाइते भएर अस्पताल भर्ना भएकी थिइन् । यस्तो बेला उनीहरूका लागि राहत–उद्धारमा जुट्नु चानचुने कुरो थिएन । अझ उमेरले वर्षदिन नपुगेकी छोरी अर्काको जिम्मा लाउनुपर्ने थियो ।
सरसफाइ दूत घोषणा भएर चर्पी बनाउने दौडधूपमा सहयोग संकलन गरिरहेका उनीहरूलाई भूकम्पको महाविपत्तिपछि ‘डाइभर्ट’ हुनुपर्ने बाध्यता आइलाग्यो । चर्पी बनाउन भनेर उठेको साढे १६ लाख रुपैयाँ भूकम्पपीडितको पीडामा मलम लाउन खर्चने विचार गरे उनीहरूले । सुरुमा भूकम्पबाट अति प्रभावित १० जिल्लामा टेन्ट र खाद्यान्न लिएर धाए । त्यसपछि विभिन्न शिविरमा चर्पीको आवश्यकता पूर्ति गर्न लागे ।

August 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

अग्रगामी छलाङ
यसैक्रममा, नुवाकोटको महाकाली निमावीको सातकोठे भवन बनाए । जेठ ११ गते उद्घाटन कार्यक्रम थियो । त्यसै दिनबाट कक्षा पनि चल्दै थियो । जब कि सरकारका प्रतिनिधिहरू त्यही उद्घाटनका दिन भवन सुरक्षित–असुरक्षित खुट्याउन स्टिकर टाँस्न पुगेका थिए । जेठ १७ गतेबाट विद्यालय खोल्ने सरकारको योजना थियो ।
‘नयाँ भवनको भव्य उद्घाटन चलिरहेको देखेर जिल्ला शिक्षाबाट गएकाहरू ट्वाँ पर्नुभयो,’ सीतारामले भने, ‘त्यहाँका एक अगुवा भन्दै हुनुहुन्थ्यो, ‘यही हो अग्रगामी छलाङ भन्या ।’ अरू विद्यालय खुल्न नपाउँदै त्यो विद्यालयमा छुट्टै भवन बनाएर कक्षा चलाउन पाउँदा मलाई पनि अग्रगामी काम गरेकै जस्तो महसुस भयो ।’
विद्यालय भवन बनाएर बचेको आठ लाख रुपैयाँले कतै एकीकृत नमुना बस्ती बनाउने योजना फु¥यो, धुर्मुस–सुन्तली जोडीलाई । नुवाकोट र गोर्खाका धेरै गाउँ पुग्दा सोचेअनुसार योजना कार्यान्वयन गर्न सक्ने देखेनन् उनीहरूले ।
1111यसैबेला, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, काभ्रेका प्रमुख मोहनलाल जैसीले फोनमा आग्रह गरे, ‘यहाँको पहरी बस्तीमा चर्पी बनाइदिन सकिएला ?’ त्यो आग्रहपछि चर्पी मात्रै नभएर बस्ती नै बनाउन सकिने योजना बोकेर उनीहरू लागे, काभ्रेपलाञ्चोक, पाँचखालको पहरी बस्तीमा ।
‘त्यहाँका पहरीहरूको पीडा देखेर यहाँबाट त्यसै फर्कन मन लागेन,’ उनीहरूले यसै गाउँमा आफ्नो योजनाको पोको फुकाउने विचार गरे, ‘हामीले ल्याएको राहत यहाँका गाउँलेहरूलाई बाँडिसकेपछि नमुना बस्ती बनाउने कुरा राख्यौँ ।’ ५२ घरधुरी रहेका पहरीहरू एकीकृत बस्तीबारे अनभिज्ञ थिए । सोझा उनीहरूले सीधै ‘हुँदैन’ भन्न थाले । केहीले ‘टिन घोप्टाएका जस्ता बस्ती हाम्लाई चाहिन्नन्’ भने । ‘गाउँ बिगार्न आएको’सम्म आरोप लाउन भ्याए । ‘सहमत गराउने कैयौँ प्रयत्न असफल भएपछि हात ठड्याएर हामी फर्कन खोज्दै थियौँ,’ धुर्मुसले सम्झे, ‘त्यसैबेला यहाँका अगुवा श्याम पहरी दाइले ‘सब म मिलाउँछु, तपाईंहरू काम गर्नुस्’ भन्नुभयो । अब त केही होला जस्तो लागेर काममा जुट्ने सोच्यौँ ।’

फेरि भोलिपल्ट विवाद भयो । एकीकृत बस्ती बसाल्ने भनिएको डाँडोमा चार जनाको जग्गा पर्दो रहेछ । किचलो अझ मच्चिने देखियो । अब भने नफर्कने ‘कठोर’ निर्णय लिए उनीहरूले । ‘अब त जे पर्ला–पर्ला । योजना सफल बनाएरै छाड्ने हो भन्ने निर्णय बिहानै बसेको हाम्रो आपत्कालीन बैठकले ग¥यो,’ उनले भने, ‘चेतना नभएको बस्तीमा चेतना फैलाएरै भए पनि योजना सफल पार्नसक्नु नै ठूलो उपलब्धि हुने ठान्यौँ ।’ एकीकृत बस्तीको योजनालाई उनीहरूले प्रतिष्ठाको लडाइँका रूपमा बुझ्न थाले । जसले उनीहरूलाई मरिमेटेर गाउँलेलाई सहमत बनाई योजनाबद्ध बस्ती बसाल्ने काममा अघि बढायो । हरेक चुनौतीसँग लड्न तयार भए उनीहरू । ‘एकछिन कुरो मिल्थ्यो, फेरि कुनै न कुनै विषयमा बाझबाझ चलिहाल्थ्यो,’ सीतारामले सम्झे ।

उनको भनाइमा यहाँका मान्छेको निर्णय गर्ने ‘स्टेरिङ’ नै आफ्नो हातमा थिएन । पहरीहरू रहँदै आएको जग्गा उनीहरूको आफ्नो थिएन । पलाञ्चोक भगवती मन्दिर गुठीको नाममा रहेको जग्गालाई उनीहरूले भोगचलनमात्र गर्न पाएका थिए । प्रत्येक बिहान चाहिने फूल ‘रोटेसन’का आधारमा तोकेको मात्रामा मन्दिर पु¥याउनुपर्ने शर्तमा । जुन शर्त नमान्नेले पाँच सय रुपैयाँ जरिवाना तिर्नुपथ्र्यो । ‘टाठाबाठाले आफैँले चाहेजसरी पहरीहरूलाई दुरुपयोग गरिरहेकाले पनि उनीहरूले आफँै निर्णय गर्न सक्थेनन्,’ सीतारामले भने, ‘अझ अर्को सोलमारी (रक्सी) नामको निर्देशक थियो । खाएका बेला एउटा बोली हुने, ‘फ्रेस’मा अर्को ।’
dhurmu-660x330गाउँले दंग पार्ने जुक्ति
एक बिहान सीतारामले कम्प्युटरमा प्रस्तावित बस्तीको नमुना देखाए स्थानीय बासिन्दालाई । त्यो देखेर दंग परे उनीहरू । ‘यस्तो राम्रो बस्ती बन्छ ?’ भनेर सबै चकित भए । पुनःस्थापनाका नाममा केही जस्तापाता बटारेर टहरा बनाउने मात्र देखेका उनीहरू योजनाबद्ध बस्तीको नमुना देखेर जिल खाए । बिस्तारै सहयोग मिल्ने संकेत देखियो । जग्गाको कुरा मिल्न थाल्यो । अब गाउँसम्म सडक पु¥याउने टेन्सन थियो । डोजर बोलाएर गाउँसम्म मात्र होइन, काठ ल्याउनुपर्ने जंगलसम्मै बाटो खनियो ।
भुसुनादेखि नेतासम्मले सताए
भुसुना, गुन्डा, नेतालगायत धेरैसँग दुश्मनी झेल्दै काम सुरु गरेको अनुभव सुनाउँछन् उनीहरू । भुसुनाले टोकेर उमारेका डाबर देखाउँदै ‘भद्रगोल’का कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले सम्झिए, ‘भुसुना त हाम्रा मुख्य दुश्मन हुन् । अस्पताल धाउँदाधाउँदै ठिक्क हुन्थ्यो सुरुसुरुमा । अहिले चाहिँ चिनिसके क्यारे । टोक्न कम भा’छ ।’ उनका अनुसार यो योजना असफल बनाउन चाहने नेताहरूका आसेपासे भाँजो हाल्न खोज्थे । ‘गुन्डाहरूका धेरै धम्की खेप्दै रात बिताउनुप¥यो,’ उनले भने ।
त्यसैबेला प्रकृतिले पनि उनीहरूलाई नै लखेट्यो । ‘लगातार पानी पर्न थाल्यो,’ ‘भद्रगोल’का अर्का कलाकार कुमार कट्टेल ‘जिग्री’ले भने, ‘रातमा चट्याङ पथ्र्यो । दिनभरि पानी परेर टेन्टभित्रै हुन्थ्यौँ । कहिले हावाहुरीले टेन्ट नै उडाइदिन्थ्यो । भूकम्पले जमिन हल्लिरहेकै थियो । प्रकृतिले पनि हाम्रो योजना असफल पार्न चाहेको हो कि भन्ने सोच्न बाध्य भइन्थ्यो ।’

‘धुर्मुस गिरफ्तार’
वनको काठ प्रयोग गर्न लागेको देखेर कसैले उजुरी गरेछ प्रहरीमा । पहरी गाउँमा कलाकारहरू असुरक्षित रहेको खबरले एक दिन स्थानीय प्रहरी निर्माणाधीन नमुना बस्ती पुगेछ । काठमाडौँमा नयाँ पत्रिका दैनिकले आयोजना गरेको नेता–कलाकार फुटबलका लागि भन्दै सीताराम प्रहरीसँगै फर्के । गाउँमा हल्ला चलेछ, ‘धुर्मुस गिरफ्तार भएछ ।’ साँझ फर्कंदा पो थाहा पाए उनले आफू ‘गिरफ्तार’ भएको । ‘सबैले ‘छुटिहाल्यौ, सजिलै छुटेछौ’ यस्तै–यस्तै भन्न थाले,’ सीतारामले सम्झिए, ‘मलाई त हाँस उठ्यो । म पनि के कम, ‘ज्याकस्याक लाएर छुटियो नि’ भनेर ध्वाँस दिइहालेँ ।’
प्रहरी र सेनाको सहयोगप्रति एकदमै आभारी छन् उनी । ‘सेनाले सिपाहीहरू पठाएर केही दिन भए पनि सहयोग ग¥यो,’ उनले भने, ‘तर, पछि प्राविधिक कारणले सेना चाँडै फर्कनुप¥यो ।’
सरकारले आर्थिक वर्षको सुरुमै बजेट भाषण गर्छ । वर्ष सकिनै लाग्दा कामको चटारो सुरु हुन्छ । धुर्मुस–सुन्तली बस्तीमा भने कामले गति लिइसकेपछि मात्र बजेट ‘भाषण’ भयो । ‘काम सुरु भइसक्दा पनि बजेटको टुंगो लागिसकेको थिएन,’ धुर्मुसले भने, ‘त्यही बचेको आठ लाखको भरमा सुरु गरिएको थियो । रोइकराई गरेर बजेट जुट्न थाल्यो ।’ ४० लाख रुपैयाँमा बस्तीको काम सक्ने अनुमान थियो । ‘तर, अहिलेसम्म ५५ लाख रुपैयाँ खर्च भइसकेको छ,’ सीतारामले भने, ‘योजना सफल हुनमा मनकारी दाताको ठूलो हात रहेको छ ।’

‘घरै बिकेन’
सुरुमा त आँटकै भरमा योजना सुरु गरेको बताउने धुर्मुस–सुन्तली जोडी पछि भने दाताकै कारण घर बेच्नु नपरेको बताउँछन् । ‘घरै बिक्रीको सूचना दिएपछि झन् धेरैले सहयोग गरे,’ सीतारामले भने, ‘फेरि त्यतिबेला घर किन्ने मान्छे पनि को थिए र ? सबै घरदेखि नै त्रसित थिए ।’ उनीहरू सबै त्याग्नपरे पनि योजना सफल बनाउने ढिपीमा थिए । ‘अहिलेसम्म हामीले जोडेका सबै सम्पत्ति हाम्रा कहाँ हुन् र ?’ उनले भने, ‘दर्शकलाई हँसाएर उहाँहरूकै कृपाले यहाँसम्म आइपुगेका हौँ । उहाँहरूकै दुःखमा त्यो सबै स्वाहा पार्नुपरे पनि के पछुतो ?’ तर, त्यसो गरिहाल्नुपरेन । धेरैको टीका–टिप्पणी र आरोप भने मज्जैले झेल्नुप¥यो ।
मान्छे फकाउन माहिर देखियो यो जोडी । हँसाएर हुन्छ कि रुवाएर, मान्छे फकाएरै छाड्ने । ‘सँगै सोलमारी खाए जस्तो गरेर हुन्छ कि रमाइलो गराएर, मान्छेलाई त फकाएरै छाडियो,’ सीतारामले भने, ‘साँझमा दोहोरी गाएर नाचिन्थ्यो । दिनभरिको थकान पनि मेटिने, रिसाएका गाउँले पनि मख्ख भइहाल्ने ।’ महिला फकाउने जिम्मा सुन्तलीको थियो । बिसञ्चो भएर केही दिनका लागि घर फर्केकी कुञ्जनाले फोनमा भनिन्, ‘दिदीबहिनीहरूलाई फकाउने जिम्मा मेरो थियो । गाउँमा चेतना फैलाउने नै मुख्य उद्देश्य हो । केटाकेटीलाई झोला, ड्रेस दिएर, नुहाइधुहाइ गराएर स्कुल पठाएँ । यसले पनि उहाँहरूमाझ भिज्न सजिलो भयो ।’ आफूहरू सरसफाइ दूत रहेको पनि उनीहरू बेलाबेला सम्झिन्थे ।
उनीहरूको छोरी १४ महिना पुगिन् । यस अवधिमा मुस्किलले १५ दिन भेट गर्न पाएको सीतारामले बताए । योजना सफल हुनुको देन कुञ्जनालाई नै दिन हिचकिचाउँदैनन् उनी । ‘उनकै योजना हो यो त,’ सीतारामले भने, ‘म, दाता, साथीभाइ, आफन्त लगायतले त सघाएका मात्र हौँ ।’
यति राम्रो बस्ती देखेर कम्ती चकित छैनन् स्थानीय ! ‘सुरुमा त उहाँहरूलाई लखेट्नै खोज्यौँ,’ सान्नानी पहरीले भनिन्, ‘हाम्रा लागि भगवान् भएर आउनुभएको बल्ल बुझ्यौँ ।’ यो बस्तीकै मुहार फेरिदिएको भन्दै उनले धुर्मुस–सुन्तली जोडीलाई यहाँबाट जानै नदिनेसम्म बताइन् । ‘उहाँहरूका लागि पाहुना घर छँदै छ,’ उनले भनिन्, ‘हामी त जानै नदिने हो । उहाँहरू बस्न चाहे सधैँ यतै राख्ने ।’

एकीकृत बस्तीमा विकासको काम सजिलो हुने भएकाले सरकारले पनि यसैअनुसार नीति बनाएर मात्र हुँदैन, कार्यान्वयन पनि गर्नुपर्छ भन्ने दबाब दिन खोजेको पनि सीतारामको भनाइ छ । वृक्षरोपणसँगै जीविकोपार्जनका कार्यक्रम पनि लाने योजना सुनाए उनले । यो बस्तीलाई सरसफाइमा पनि उत्कृष्ट बनाउन गाईबस्तु भित्र छिराउन दिइने छैन । त्यसका लागि छुट्टै गोठ बनाइएको छ । बस्ती व्यवस्थापनका लागि श्याम पहरीको अध्यक्षतामा समिति पनि बनेको छ ।

अब कहिले देख्न पाइन्छ टीभीमा ?

‘खै कहिले भन्नु ?’ सीतारामले भने, ‘पुरानै फर्ममा आउन त समय लाग्ला । शारीरिक, मानसिक थकान मेटौँ पहिला ।’

दंग छन् स्थानीय
वीरमान पहरी
टीभीमा देखेको मान्छे । आफ्नै अगाडि देख्न पाउँदा विश्वासै लागेन । तर, उहाँहरूको योजना सुनेर सुरुमा रिस उठ्यो । त्यही भएर हामीले मानेनौँ । पछि बुझ्दै जाँदा त हाम्रै भलो हुने रहेछ । हाम्रो गाउँकै मुहार फेरिदिनुभयो ।

सानु पहरी
भूकम्पले सबैलाई दुःख दियो । हाम्रा पनि घर भत्के । कसैको ज्यानै गयो । तर, उहाँहरू जस्तो भगवान् जुटाइदियो । एकदम खुशी छौँ । यस्तो गाउँ होला भन्ने सोचकै थिएनौँ ।

एलिस पहरी
टीभीमा मुश्किलले आधा घण्टा देख्न पाइन्थ्यो । यहाँ त जति हेरे पनि भयो । काम गरेको जस्तै नलाग्ने । एकदम रमाइलो भयो । घर पनि दामी बने । होमस्टेमा आउने टुरिस्टटको गाइड गर्ने जिम्मा लिँदै छु अब ।

श्याम पहरी
मेरा तीनटा घर भत्केका थिए । अहिले त सबै भुलिसकेँ यो देखेर । सुरुमा सबैले लखेट्न खोजे । मैले बुझ्दै जाँदा केही राम्रो हुने देखेर फकाएँ । टीभीमा देखिने मान्छे यसरी हाम्रै घर बनाउन आउनुहोला भन्ने कसले सोच्यो ?

कान्छो पहरी
बिदाइ कसरी गर्ने होला ? मलाई त त्यो सम्झेरै दुःख लागिरा’छ । उहाँहरूका नाममा बाख्रा पाल्ने सोचेको छु मैले । घरमात्र बनेन, धेरै कुरा सिकियो । बोल्न जानियो । हाम्रो गाउँमा केही हुन्छ अब ।

सान्नानी पहरी
उहाँहरूलाई जानै नदिने सोचेका छौँ । पाहुना घरमै राख्ने हो । तर, मान्नुहुन्न होला । भूकम्पले रुवायो सबैले । हामीलाई त भूकम्पले भगवान् पठाइदियो । अब हामी उहाँहरूले भने जसरी मिलेर बस्छौँ । फोहोर गर्दैनौँ । पाहुनालाई स्वागत गर्छाैं ।

सघाउनेका अनुभव
अर्जुन घिमिरे ‘पाँडे’
बस्ती देखेर खुशी लागेको छ । थकान मेटिएको अनुभव भएको छ । छाला जाने गरी गरेको काम केही होइन जस्तो लाग्दै छ । विशेषगरी ढुंगा बोक्ने, डीपीसी गर्ने, सिकर्मी तथा डकर्मी काम मेरो जिम्मामा थियो । धुर्मुस–सुन्तली जोडीको योजनामा हामीले सक्नेजति साथ दिएका मात्र हौँ ।

गोपाल लामा ‘कार्की दाइ’
खाना र आर्थिक व्यवस्थापन मेरो जिम्मा हो । धादिङस्थित आफ्नो घर भूकम्पले बेहाल भए पनि यहाँ धेरै जनालाई खुशी बनाउन पाउँदा सन्तुष्ट छु । अब आफ्नो घर पनि यस्तै बनाउनुपर्ला भन्ने सोचेको छु । दुःख जति भए पनि सफल भएकोमा आनन्दित छु । चाहे के गर्न सकिन्न भन्ने उदाहरण धुर्मुस–सुन्तली हुनुहुन्छ ।

कुमार कट्टेल ‘जिग्री’
दाइभाउजुको योजनामा हल्का सहयोग गरेको मात्र हो । यस्तो धेरै दुःख त जीवनमा कहिल्यै गरिएन । तर, अहिले खुशी छौँ हामी सबै । हामीले त आफ्नो नियमित काम पनि भ्याएर यता समय दियौँ । तर, दाइभाउजुले सबै त्यागेर यता लाग्नुभयो ।

अर्जुन न्यौपाने
म इन्जिनियर होइन । तर, अनुभवका आधारमा इन्जिनियरको जस्तै काम गर्छु । उहाँहरूलाई मैले डिजाइनमा सघाएँ । सानो आँटले उहाँहरूले यो काम गरेको होइन । ठूलै त्याग गर्नुभयो । हाम्रो त सामान्य सहयोग मात्र हो । तनावको कुरा गर्दा उहाँहरूलाई जति कसलाई होला ?
(साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्