भुकम्प पीडितको सहयोगार्थ पोखरा पुग्यो ‘आवाज’ यात्रा



रंग खबर, काठमाण्डौं । भुकम्प पीडितको सहयोगार्थ बुद्धकुमारी फाउन्डेशनले शुरु गरेको आवाज सांगितीक यात्रा पोखरामा पुगेको छ । पोखरास्थित प्रदर्शनी केन्द्रमा फाउन्डेशनले शनिवार भब्य कन्सर्ट गर्ने भएको छ ।
aawaj finalकन्सर्टमा कभवेभ ब्याण्ड, रविन एण्ड दि न्यू रिभोलुसन, द स्याडोज नेपाल, आउटसाइडर ब्याण्ड, लाहुरे र उसको ब्याण्डले प्रस्तुति दिने भएका छन् । कार्यक्रममा डिजे सेसन समेत हुनेछ । ‘हामीले सिन्धुपाल्चोकस्थित भुकम्प प्रभावत गाउँ हाइबुंगमा भत्किएका संरचना पुनःनिर्माणका लागि यो अभियान थालनी गरेका हौँ । धरानमा कार्यक्रम सकेर पोखरा आइँपुगेका हौँ ‘, फाउण्डेशनकी संस्थापक बसुधा राईले भनिन्, ‘यो यात्रा देशका मुख्य पाँच शहरमा गर्ने लक्ष्य हो । पोखरापछि काठमाण्डौँ, बुटवल र चितवनमा गर्नेछौँ । ‘ उनले कन्सर्टबाट उठेको सम्पुर्ण रकम हाइबुंगको पुनःनिर्माणमा खर्चिइने बताइन् । ‘भुकम्पले भत्काएको त्यँहाको स्कुल पुनःनिर्माणको काम शुरु गरिसकेका छौँ’, फाउन्डेशनका व्यवस्थापक सरुजन तुलाधारले भने, ‘त्यँहा एउटा क्लिनिक स्थापन गर्ने लक्ष्य समेत लिएका छौँ । ‘

‘विशुद्ध सामाजिक कामका लागि हामीले यो अभियानको थालनी गरेका हौँ’, कार्यक्रमकी संयोजक आरती गुरुङले भनिन्, ‘ त्यसैले सम्पुर्ण पोखरेलीले कार्यक्रममा सहभागी भएर हाम्रो सामाजिक अभियानमा हातेमालो गर्नुहुनेछ भन्ने विश्वास राखेका छौँ । ‘ उनले कार्यक्रममा १० हजारको हारहारीमा दर्शक भित्राउने लक्ष्य लिएको समेत बताइन् । यो कार्यक्रमलाई टुबोर्ग, रोयल स्टग र यति एयरलाइन्सले प्रायोजन गरिदिएको छ । दिउँसो दुईबजेदेखि कन्सर्ट शुरु हुने उनले जानकारी दिइन् ।

कार्यक्रमको आयोजक बुद्ध कुमारी फाउण्डेशनले विपन्न तथा अनाथ बालबालिकाको संरक्षण र हकहितका क्षेत्रमा काम गर्दै आइरहेको छ । एकमहिना अघिमात्र संस्थाले भुकम्प प्रभावित र विपन्न वर्गका गरि १० जना बालबालिकालाई अध्ययनको व्यवस्था गरिदिएको थियो । त्यसैगरी काठमाण्डौँस्थित इन्द्रायणीका १९ भुकम्प पीडित परिवारका लागि अस्थायी घर निर्माण गरिदिएको संस्थापक राईले बताइन् । ‘हामीले भुकम्प प्रभावित जिल्लाहरु धादिङ, दोलखा र सिन्धुपाल्चोकमा पुगेर राहत वितरण गर्नुका साथै मेडिकल क्याम्प संचालन र बालबालिकालाई कसरी त्रासमुक्त बनाउने भन्ने विषयमा तालिम समेत दिएका थियौँ’, राइले थप जानकारी दिइन् ।
Watch Video News Here :-

प्रतिक्रिया दिनुहोस्