राजेशको क्रेजलाई प्रमोशनको हतियार बनाउने दाउमा ‘बागमती’ युनिट



रंग खबर, काठमाण्डौँ । तिहार मनाउन अमेरिका पुगेका महानायक राजेश हमाल बिहीवार मात्रै नेपाल फर्केका छन् । नेपाल फर्किनासाथ हमालले प्रर्दशनको तयारीमा रहेको आफ्नो फिल्म ‘बागमती’को निर्माण युनिटसँग भेटेका छन् ।

‘कमब्याक’ भनेर प्रचार गरिएको उनको यो फिल्म पुस २४ गतेबाट सार्वजनिक प्रर्दशनमा आउँदैछ । पछिल्लो समय फिल्मको प्रमोशनमा कलाकारको सहभागिता पातलिँदै गइरहेको छ । तर, अभिनेता हमालले ‘बागमती’ प्रमोशनमा आफ्नो पुर्ण सहयोग रहने प्रतिवद्धता जनाएको निर्माताले दिनेश दर्शनधारीले बताए । शुक्रबार हमालसँगको छलफलपछि निर्माता तथा प्रस्तुतकर्ता दिनेश दर्शनधारीले भने, ‘उहाँसँगको भेटघाटपछि फिल्मको प्रचारको लागी थप उर्जा मिलेको छ । अब अन्य कलाकारहरुसँगै महानायकज्यू पनि प्रचारमा सँगसँगै देखिनुहुनेछ ।’ यसअघि आयोजित केही पत्रकार भेटघाटमा हमाल देखिएका थिएनन् ।
bagmati poster finalसाथै आफू अमेरिका रहँदा समेत त्यहाँ रहेका नेपालीहरुले छिटो नेपाल फर्केर बागमतीको प्रचारको लागी उत्रिन आग्रह गरेको समेत हमालले खुलाएका छन् । अमेरिका रहँदा ’बागमती’को बारेमा धेरैले चासो व्यक्त गरेको भन्दै फिल्मलाई दर्शकको साथ मिलाउनको लागी हर कोशिष गर्ने समेत उनले बचन दिएका छन ।

एक समय थियो, जतिवेला राजेश हमालको नामैले फिल्म चल्थ्यो । तर, अहिले त्यस्तो छैन् । केही वर्षयता उनका थुप्रै फिल्म फ्लप भएका छन् । त्यसैले पनि हमालको यो पुनरागमनलाई लिएर फिल्मवृत्तमा अनेक टिकाटिप्पणी भइरहेका छन् ।

फिल्म नचलेपनि हमालको क्रेज दर्शकसामु घटेको छैन् । उनी कुनै सार्वजनिक ठाउँ वा सभा सम्मेलनमा पुग्दा होस्, उनका फ्यान तथा शुभचिन्तकहरुले उनलाई घेरीहाल्छन् । उनको यो क्रेजलाई ‘बागमती’ युनिटले प्रचारप्रसारको हतियार बनाउन खोजिरहेको बुझिएको छ । यसका लागि हमालले कतिको साथ देलान् ? फिल्म क्षेत्रमा गाईँगुईँ चलिरहेको छ ।

‘बागमती’लाई साउथ ईण्डियन निर्देशक सन्नी केरेलाले निर्देशन गरेका हुन् । अधिकांश प्राविधिक पनि दक्षिण भारतकै रहेको यो फिल्म अहिलेसम्मकै महंगो फिल्म भनेर निर्माण युनिटले प्रचार गरिरहेको छ । फिल्म निर्माणमा दुई करोडभन्दा बढी रकम खर्च भएको निर्माण युनिटको दाबी छ । फिल्ममा ‘एक्सन किङ’ शिव श्रेष्ठ, अभिनेत्री केकी अधिकारी, नवअभिनेत्री श्रेया कार्की आदिले पनि अभिनय गरेका छन् ।
Watch Bagmati Trailer :-

प्रतिक्रिया दिनुहोस्