फष्टलुक पोष्टर : भुवनको ‘ड्रिम्स’मा यस्तो देखिए अनमोल



रंग खबर, काठमाण्डौँ । सदाबहार अभिनेता भुवन केसीको डेब्यु निर्देशन रहेको फिल्म ‘ड्रिम्स’को फस्ट लुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्र अनमोल केसी र साम्राज्ञी राज्य लक्ष्मी शाह फिचरिङ छन् ।

३० वर्षे फिल्मी यात्रामा भुवनले पहिलो पल्ट आफ्नै छोरा अनमोल केसीलाई लिएर आफ्नै ब्यानर काजल फिल्मस् मार्फत् ‘ड्रिम्स’को निर्देशन गरेका हुन् । जसमा यसअघि दुई फिल्म निर्देशन गरिसकेका दिवाकर भट्टराईले फिल्मको एसोसिएट निर्देशकको रुपमा काम गरेका छन् ।
dreamsफिल्मको पोस्टरले नै फिल्म लभस्टोरी रहेको जनाऊ दिएको छ । पोष्टरमा साम्राज्ञी अनमोलको अंगालोमा देखिएकी छिन् । पोष्टरमा साम्राज्ञी स्पष्ट देखिएकी छैनन् । पोष्टर हेर्दा अनमोलको सपनामा मात्र उनी अंगोलामा रहेको जनाउ दिन्छ । कतै अनमोलको सपना साम्राज्ञीलाई पाउनु त होइन् ? साम्राज्ञीको प्रेम पाउनलाई अनमोलले गर्ने संघर्ष नै कतै फिल्मको कथा होइन् ? पोष्टर हेरेपछि दर्शकको मनोविज्ञानमा यि प्रश्न उठ्न सक्छन् ।

यसअघि नै करोडपति, नेपाली बाबु, म तिमी बिना मरिहाल्छु जस्ता सुपरहिट फिल्म निर्माण गरिसकेका भुवनको यो फिल्म आउँदो फागुन २१ मा देशव्यापी रिलिज हुँदैछ । फिल्मबाट साम्राज्ञीराज्य लक्ष्मी शाह र सन्ध्या केसीले डेब्यु गर्दैछन् । फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन ,उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ । फिल्ममा चन्द्र पन्तको द्धन्द्ध, कविराज गहतराजको नृत्य र साहिल खानको ट्रेलर रहेको छ ।

सर्वाधिक सफल निर्माताको परिचय बनाएका भुवन केसी र नयाँ पुस्तामा सर्वाधिक रुचाइएका अनमोल केसीको सहकार्य रहेको यो फिल्म नेपाली दर्शकमाझ प्रतिक्षित छ । । ‘३० वर्षे मेरो फिल्मी यात्राको अनुभव र अनमोलको भविष्यलाई ध्यानमा राखेर फिल्म बनाएका छौं । दर्शकको अपेक्षा खेर जान्न,’ अभिनेता भुवनले भने ।

प्रतिक्रिया दिनुहोस्