बल्ल फक्रिदै छिन् पुष्पा | लोक देउडामा चर्चा बढ्दै



भल्गर शब्दले भरिएका गीत गाउँदै उत्ताउलो पहिरनमा मोडलिङसमेत गरेर रातारात बजार पिट्न चाहने गायिकाको ठूलो लस्कर छ । यसै गरी कति आए, कति हराए । तर, गायिका पुष्पा बोहोरालाई भने भेलबाढी हुनु थिएन र छैन । भन्छिन्, ‘त्यसैले गीतसंगीतको एउटा खुड्किलोमा पुग्न १० वर्ष लाग्यो ।’

झन्डै १० वर्षअघि तत्कालीन राजाको जन्मदिनमा आयोजित गायन प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी थिइन् उनले । सुदूरपश्चिमको दार्चुलाबाट गीत गाउन काठमाडौँ आएकी उनको गायन यात्रा त्यहीँबाट सुरु भएको हो । गीतसंगीतको दुनियाँमा पाइला चाले पनि दौडिन खोजिनन् । ‘परिपक्व भएर मात्रै यो क्षेत्रमा एकोहोरो भएर लाग्ने चाहना थियो । त्यसैले संगीत सिकेँ लामो समय,’ पुष्पाले भनिन् ।

गायनमा आत्मबल जागेपछि आफू पूर्ण रूपमा गायन क्षेत्रमा लागेको उनी बताउँछिन् । तर, समय र उनको सोचको तालमेल मिल्न थप समय लाग्यो । त्यसैले पुष्पा बल्ल फक्रिदै छन् । उनी ‘सोल्टी ज्यू’ गीतमार्फत लोकदोहोरी अवार्ड–२०७३ को उत्कृष्ट नव गायिकामा पर्न सफल भएकी छिन् ।

लोक देउडामा त उनी चर्चित गायिका मध्येमै पर्छिन् । उनको दर्जनभन्दा बढी गीत हिट भइसकेका छन् । तीमध्ये ‘आया कञ्चनपुरका मेला’, ‘ब¥याँतका दिन’, ‘मै डोली चढ्ने बेला’लगायत गीत रुचाइएका छन् ।
puspa bohoraयिनै गीतका कारण विगत केही वर्षदेखि सुदूरपश्चिममा हुने प्रायः कार्यक्रममा निम्त्याइने गायिकामध्ये पर्छिन् उनी । भन्छिन्, ‘सुदूरपश्चिमका सबै जिल्लामा पुगेर गीत गाइसकेँ ।’

यसका साथै कुमाउँ, गढवाल र धार्चुलालगायत भारतीय भूमिमा र धेरै नेपाली बसोवास गर्ने भारतका शहरमा गीत गाउन आफू पुगिसकेको उनी बताउँछिन् ।

उनको पहिलो गीत भने काँठे भाकाको थियो ।  देशव्यापी गायन प्रतियोगितामा तेस्रो भएपछि उनका अंकलका साथीले काँठे भाकाको गीत लेखिदिएर गाउन लगाएका थिए । त्यसपछि उनले डोरेमी संगीत पाठशाला र प्रसिद्ध संगीत गुरु चण्डीप्रसाद काफ्लेसँग लामो समय संगीत सिकिन् । (साभार : शुक्रवार साप्ताहिक)

प्रतिक्रिया दिनुहोस्