राजेशपायलको गीतमा राजेश हमालको मुक्तक वाचन



रंग खबर, काठमाण्डौं ।
rajesh payal and rajesh hamal
‘कुल्ची हिड हाँसी–हाँसी यो छाती तिम्रो बाटो हो
मेरो देह केही होइन यो त केवल एक थुप्रो माटो हो’

मंगलवार दिउँसो काठमाण्डौं, बिजुलीबजारस्थित प्रज्ञा रेकर्डिङ स्टुडियोभित्र अभिनेता राजेश हमाल यसरी मुक्तक वाचन गर्दै थिए । हमालको वाचन लयमा गीतकार रत्नशम्सेर थापा आफ्नो लय सुनाउँदै थिए ।

तर, त्यहाँ हमाल कुनै फिल्मको डबिङका लागि पुगेका थिएनन् । आफुले ‘मित’ भनेर सम्बोधन गर्ने गायक राजेश पायल राईको नयाँ एल्बम ‘दर्शन नमस्ते ३’को गीतमा आफ्नो सहभागिता जनाउन उनी त्यहाँ पुगेका थिए ।

गीतकार थापाले ५५ वर्षअघि लेखेको मुक्तकलाई राजेशपायलले गीतका रुपमा ल्याउँदैछन् । ‘मुक्तक चार शेरको मात्र छ तर यसको मर्म चारसय वर्षसम्म सुन्दा पनि बुझ्न नसकिने खालको छ,’ राजेशपायलले भने, ‘यस्तो राम्रो श्रष्टाको गीत गाउन पाउँदा खुशी लागिरहेको छ ।’
rajesh hamalराजेशपायलले पछिल्लो समय ल्याइरहेका कमरसियल गीतहरुभन्दा निकै फरक र पृथक सुनिन्थ्यो उक्त गीत । अभिनेता हमाल यसमा सहमत देखिए । ‘राजेशजी सधैं केही फरक गर्न खोज्नुहुन्छ, यसमा पनि मैले फरकपन पाए,’ मुक्तक वाचन गरिसकेपछि हमालले भने, ‘उमेरले म भन्दा जेठो गीत वाचन गर्न पाउँदा खुशी छु, राजेशपायलसँगको मेरो दोस्तीको प्रमाण पनि हो यो सहकार्य ।’

रेकर्डिङका बेला गीतकार थापासहित संगीतकार हरि लम्साल, एरेन्जर किरण कँडेल समेत सहभागी थिए । यो गीतको भिडियोमा पनि हमाल र अभिनेत्री केकी अधिकारीलाई अभिनय गराउने तयारी रहेको राजेशपायलले बताए । भिडियो निर्देशनको जिम्मेवारी उनले फिल्म निर्देशक मिलन चाम्सलाई सुम्पिदैंछन् । हमालको रेकर्डिङसँगै एल्बम ‘दर्शन नमस्ते–३’को रेकर्डिङ पनि सकिएको राजेशपायलले बताए । गीतको संगीत र एरेन्ज पुरा हुनमात्र ६ महिना लागेको उनले सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्