मलिनालाई ‘संरक्षण’को आशा | फिल्ममा पत्रकारको भूमिका



‘ऋतु’बाट डेब्यु गरेयता मलिना जोशीले खाली त बस्नु परेको छैन तर उनको अभिनय रहेको फिल्मले न त उधुम व्यापार गरेका छन् न त उनको अभिनयले धेरैको ध्यान खिँचेको छ । यस्तोमा मलिनाको आशा फेरि एक पटक ‘संरक्षण’मा गएर टिकेको छ । त्यसो त फिल्ममा मलिना एक्ली हिरोइन हैनन्, फिल्ममा आशिष्मा पनि छिन् । तर, फिल्ममा मलिना नै महत्वपुर्ण भूमिकामा छिन् । फिल्ममा मलिनाले पत्रकारको भूमिका निर्वाह गरेको चर्चा छ ।
त्यसो त फिल्मको सफलता मलिनाका लागि मात्र अर्थ राख्दैन । फिल्मका लिड एक्टर निखिल उप्रेती र सौगात मल्लका लागि पनि यो फिल्मको सफलता उत्तिकै जरुरी छ । सौगातले ‘कबड्डी कबड्डी’ यता हिट शब्द सुन्न पाएका छैनन् भने निखिलका फ्लप फिल्मको संख्याले पनि ह्याट्रिक मारिसकेका छन् । अझ आफैँले निर्माण गरेको फिल्म ‘रुद्र’ बक्स अफिसमा पिटिएपछि त निखिललाई आफ्नो करियर जोगाउन पनि हिट फिल्मको खाँचो छ । यस्तोमा निखिलका आँखा पनि यही फिल्ममा टिकेका छन् । हेर्नुछ, फिल्मले सबै अपेक्षा पूरा गर्छ कि तुषारापात । (शुक्रवार साप्ताहिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्