विश्वकप फुटबलमा जितको इतिहास !



रसियामा हुन गइरहेको विश्वकप २०१८ फिफा फुटबल इतिहासको २१औँ संस्करण हो । यसअघि भएका विश्वकपकप प्रतियोगिताका २० वटा संस्करणमा केवल ८ वटा देशले मात्रै यो उपाधि हात पार्न सफल भएका छन् । २१औ संस्करणसम्म आइपुग्दा केही देशहरुले दुई–दुई पटक विश्वकपको आयोजना गरेका छन् भने केहीले एक पटक । ब्राजिल, इटाली, फ्रान्स, मेक्सिको र जर्मनीले दुई–दुई पटक विश्कप आयोजना गरेका छन् । स्विटजरल्याण्ड, उरुग्वे, स्विडेन, चिली, इङल्याण्ड, अमेरिका, अर्जेन्टिना, स्पेन, दक्षिण कोरिया, जापान र दक्षिण अफ्रीकाले एक–एक पटक विश्वकपको आयोजना गरेका छन् ।

हामीले एजेन्सीको सहयोगमा विभिन्न देशले विभिन्न समयमा जितेका ती संस्करणहरुलाई वर्गिकरण गरेका छौँः

लगातार जित
विश्वकप फुटबलको इतिहासमा दुई देशले लगातार विश्वकपको उपाधि उचालेका छन् । दुई देश इटाली र ब्राजिलले लगातार विश्वकप जितेका छन् ।

इटालीले सन १९३४ र १९३८ मा लगातार विश्वकपको उपाधि हात पारको थियो । सन १९३४ मा आफ्नै देशमा आयोजना भएको विश्वकपमा फाइनलमा अतिरिक्त समयमा चेकोस्लोभाकियालाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने सन १९३८ मा फ्रान्समा आयोजना भएको विश्वकपको फाइनलमा हंगेरीलाई ४–२ गोल अन्तरले पराजित गरेर उपाधि हात पारकेको थियो ।

त्यस्तै ब्राजिलले सन १९५८ र १९६२ को विश्वकप लगातार जितेको छ । सन १९५८ मा स्विडेनमा आयोजना भएको विश्वकपको फाइनलमा आयोजक स्विडेनलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो भने सन १९६२ मा चिलीमा भएको विश्वकपको फाइनलमा चेकोस्लोभाकियालाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।

आफै आयोजक आफै विजयी
आफैले आयोजना गरेर विश्वकपको उपाधि उचाल्नेमा विश्वकप फुटबलको पहिलो आयोजक उरुग्वे हो । सन १९३० मा भएको पहिलो फूटबल विश्वकपको उपाधि आयोजक उरुग्वेले नै जितेको थियो । फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ गोल अन्तरले पराजित गर्दै जितेको थियो ।

त्यसपछि सन १९३४ को विश्वकप आयोजक इटालीले पनि उपाधि जितेको थियो । इटालीले फाइनलमा चेकोस्लोभाकियासँग अतिरिक्त समयमा २–१ गोल अन्तरले विजयी भएको थियो ।
त्यस्तै पछि सन १९६६ मा आयोजक इङल्याण्डले सो विश्वकपको उपाधि हात पा¥यो । इङल्याण्डले अहिलेसम्म जितेको यो एक मात्र विश्वकपको उपाधि हो । त्यो विश्वकपमा इङल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

त्यसपछि विश्वकप आयोजक अर्जेन्टिनाले घरेलु मैदानमा सन १९७८ को विश्वकप जितेको थियो । सो विश्वकपको फाइनलमा अर्जेन्टिनाले नेदरल्याण्डसलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै आयोजक जर्मनीले सन १९७४ को विश्वकप उपाधि जितेको थियो । जर्मनीले सो फाइनलमा नेदरल्याण्डसलाई २–१ गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

त्यसपछि आयोजक फ्रान्सले सन १९९८ मा विश्वकपको उपाधि जितेको थियो । फाइनल खेलमा फ्रान्सले ब्राजिललाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

विश्वकप आयोजना गरेर सन १९५० मा ब्राजिल फाइनलमा पुगेर उरुग्वेसँग पाजित भएको थियो भने सन १९५८ मा विश्वकप आयोजना गरेको स्विडेन फाइनलमा पुगेर ब्राजिलसँग पराजित भएको थियो ।

विश्वकपका २० संस्करण, ८ विजेताः कस्को भागमा कति ? 
सन १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकपदेखि २०१४ मा ब्राजिलमा भएको पछिल्लो विश्वकपसम्म आइपुग्दा २० पटक विश्वकप आयोजना भएको छ । रसियामा यो पटक २१औ विश्वकप संस्करण जुन १४ देखि जुलाई १५ सम्म हुदै छ ।

विश्वकपको २१औँ पटकको यो यात्रासम्म आइपुग्दा ८ वटा देशले मात्रै विश्वकप फुटबलको उपाधि जितेका छन् । ती विजेता देशहरु ब्राजिल, जर्मनी, इटाली, अर्जेन्टिना, उरुग्वे, फ्रान्स इङल्याण्ड र स्पेन हुन् ।

ब्राजिलले अहिलेसम्म सबैभन्दा बढी पटक विश्वकपको उपाधि जितेको छ । सन १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी ५ पटक ब्राजिलले विश्वकपको उपाधि जितेको छ ।

जर्मनीले ४ पटक विश्वकपको उपाधि जितेको छ । सन १९५४, १९७४, १९९० र २०१४ मा जर्मनीले विश्वकप हात पारेको छ ।

त्यस्तै इटालीले पनि४ पटक नै विश्वकपको उपाधि हात पारेको छ । सन १९३४, १९३८, १९८२ र २००६ मा इटालीले विश्वकपको उपाधि हात पार्‍यो ।

अर्जेन्टिनाले अहिलेसम्म २ पटक विश्वकपको उपाधि हात पारेको छ । सन १९७८ र १९८६ को विश्वकप अर्जेन्टिनाले जितेको छ ।

उरुग्वेले पहिलो विश्वकप सन १९३० र १९५० मा विश्वकपको उपाधि जित्यो ।

त्यस्तै फ्रान्स, इङल्याण्ड र स्पेनले एक एक पटक विश्वकपको उपाधि हात पारेका छन् । फ्रान्सले सन १९९८ मा, इङल्याण्डले १९६६ मा र स्पेनले २०१० को विश्वकप उपाधि जितेका हुन् ।

जो तीनपटक फाइनलमा पुगेर पनि उपाधि हात पार्न सकेन
अहिलेसम्म धेरै पटक फाइनलमा पुगेर विश्वकप जित्न असफल देश हो नेदरल्याण्ड । नेदरल्याण्ड अहिलेसम्म १९७४, १९७८ र २०१० गरी तीन पटक विश्वकपको फाइनलमा पुगे पनि उपाधि जित्न असफल भएको छ ।

को कति पटक विश्वकप फाइनलसम्म पुगे ?
अहिलेसम्म धेरै पटक फाइनलमा पुगेको टिम जर्मनी हो । जर्मनी अहिलेसम्म ८ पटक विश्वकपको फाइनलमा पुगेको छ जसमा ४ पटक उपाधि जितेको छ भने ४ पटक पराजित भएको छ ।

त्यस्तै ब्राजिल ७ पटक फाइनलमा पुगेर ५ पटक उपाधि जितेको छ । इटाली ६ पटक फाइनलमा पुगेर ४ पटक उपाधि जितेको छ र अर्जेन्टिना ५ पटक फाइनलमा पुगेर २ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्