नेपाली बक्स अफिसमा तीन नयाँ फिल्म



रंगखबर, काठमाडौँ – यो साता नेपाली बक्स अफिसमा तीन फिल्म प्रदर्शनमा आएका छन् । हलिउडबाट एक र नेपाली दुई गरि तीन फिल्मले बक्स अफिसमा प्रदर्शन सुरुवात गर्दा सिंगलमा सुटुक्क एउटा फिल्म आएको छ । चर्चा गरौँ फ्राइडे रिलिजको बारेमा:-

रोमियो एण्ड मुना

यो साताका नेपाली रिलिजमा नरेशकुमार केसी निर्देशित फिल्मको राम्रो चर्चा छ । त्यसैले मल्टी र सिंगलमा यसले राम्रो शोज पाएको छ । सांगीतिक प्रेमकथामा निर्मित फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठले शिर्ष भूमिका निर्वाह गरेका छन् ।


रिलिजका हिसाबले सृष्टिको लागि उनको दोस्रो फिल्म हो । पुर्व मिसनेपालको डेब्यु फिल्म ‘गाजलु’ बक्स अफिसमा हिट थियो । प्रचारमा राम्रै समय लगानी खर्चिएको फिल्ममा प्रज्वलसुजल गिरी, शुष्मा कार्की र सुरक्षा पन्तको पनि मुख्य भूमिका छ ।

निर्देशक केसीकै पटकथा, संवादमा निर्मित फिल्ममा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यको लगानी छ । गौरव डगाओङ्कर, कोशिस क्षेत्री, कालीप्रसाद बाँस्कोटा र हर्कुलस बस्नेतले संगीत भरेको फिल्ममा ६ गीत समावेश छन् । २ घण्टा २४ मिनेट लामो लोकेश बज्राचार्यको सम्पादन छ ।

चिमुसिची

दिनेश श्रेष्ठको कथा, पटकथा, निर्देशन रहेको फिल्मबाट सुनिल क्षेत्री र अलिशा शर्माले डेब्यु गरेका छन् । यी दुईसँगै फिल्ममा सुशान्त कार्कीको मुख्य भूमिका छ ।


निर्देशक श्रेष्ठले यसअघि ‘सकुन्तला’ निर्देशन गरेका थिए । अभिनेता राजेश हमाललाई नारी अवतारमा प्रस्तुत गरिएको फिल्मले चर्चाका वावजुत बक्स अफिसमा फेल खानु परेको थियो । उक्त फिल्म र ‘चिमुसिची’को चर्चाबारे तुलना गर्दा यसपटक निर्देशक श्रेष्ठलाई अझ गाह्रो देखिन्छ ।

‘चिमुसिची’ मल्टीप्लेक्समा खुम्चिदा सिंगलमा राम्रै छ । एक्सन लभस्टोरी फिल्ममा अष्ट महर्जनको एक्सन, सुरज अधिकारी/करणराज कार्की र रेगन क्षेत्रीको संगीत छ ।

मिसन इम्पोसिबल – फलआउट

हलिउडको एकमात्र रिलिजले मल्टीप्लेक्समा औसत शोज प्राप्त गरेको छ । तर, सबै शोजमा बुकिङ औसत भन्दा माथि देखिएको छ ।

यो साता मल्टीप्लेक्समा ‘मिसन इम्पोसिबल’ १ नम्बर छ । एक्सन जानराको फिल्मको समिक्षा पनि राम्रो छ ।
क्रिस्टोफर मेक्वाइरि निर्देशित फिल्ममा टम क्रुज, हेनरी काभिल, भिंग र्यामेस, सिमोन पेग लगायतका कलाकारको अभिनय छ ।

सुकुलगुण्डा

एक समयका चर्चित अभिनेता जीवन लुइँटेल अभिनित फिल्म निर्माणको लामो समय पश्चात हलमा आएको छ । घोषणाताका रम्रो चर्चामा रहेको फिल्मको बारेमा अहिले फिल्मकर्मी समेत अनविज्ञ छन् ।
मधुसुधन भट्टराई निर्देशित फिल्ममा सुशील पोखरेल, खुस्बु खड्का र रमेश बस्नेतको पनि मुख्य भूमिका छ । यो सिंगलका केहि पर्दामा प्रदर्शनरत छ ।

प्रतिक्रिया दिनुहोस्