कला, क्षमता बुझेर मात्र फिल्ममा आउनुहोस् – राजेश हमाल



रंगखबर, काठमाडौँ – अभिनेता राजेश हमालले फिल्म क्षेत्रमा आउनु भन्दा पहिले कला र आफ्नो क्षमतालाई मात्र बुझेर आउँन आग्रह गरेका छन् । जबसम्म हावादारी कुरामा, कसैको लहलहैमा लागेर कोहि फिल्म क्षेत्रमा आउँछ उसले विभेदको सामना गर्नुपर्ने हमालको कथन छ ।

हमाल संचारिका समुहको साप्ताहिक कार्यक्रम ‘समकोण’मा छलफल गर्न पुगेका थिए । ‘नेपाली फिल्म क्षेत्रमा महिलालाई दिइने भूमिका र उनीहरुले भोग्ने समस्या’को विषयमा गरिएको छलफलमा महिलालाई गरिने विभेद फिल्मकर्मीको मात्र समस्या नभएर महिला/पुरुषकै समस्या भएको हमालले औल्याएका थिए । ‘जब महिलाले यी सबै चनौतीका वावजुत यो क्षेत्रमा सफलता हाँसिल गर्छे भने उसलाई म कदर गर्छु ।’ उनले भने । ‘र अर्को कुरा नबुझेर आउने पुरुषहरु पनि यहाँ पुरुषबाट शोषित छन् |’

त्यस्तै अभिनेत्रीले गर्ने भूमिकालाई आदर्शका रुपमा नलिन पनि आग्रह गरे । ‘नायिकालाई आदर्शको रुपमा लिइन्छ, तर नायिकाले गर्ने भूमिकालाई आवश्यक गरि आदर्शको रुपमा लिनुपर्छ भन्ने छैन । किनकी नायिकाले यस्ता भिन्दा-भिन्दै भूमिका गरेर कलाकारितामा खुबी स्थापित गरेको हुन्छ । त्यसैले नायिकालाई आदर्शको रुपमा लिन सकिन्छ तर उहाँहरुले गरेका पात्रहरु आदर्शवादी हुनुपर्छ भन्ने छैन ।’ हमालले प्रष्ट्याए ।

पारिश्रमिकमा विभेद

कलाकारको पारिश्रमिक कति बढाउने भन्ने कुराको निर्धारण बजारले गर्ने हमालले व्याख्या गरेका थिए । ‘चलचित्र भनेको यस्तो लोकतान्त्रिक क्षेत्र हो । की लोकले चाहेन भने तपाई यहाँ टिक्न पनि सक्नुहुन्न । लोकले रुचाएन भने तपाईको फिल्मले राम्रो व्यापार पनि गर्न सक्दैन ।’ उनले थपे  ‘त्यसैले फिल्मको ‘युनिक सेलिङ पोइन्ट’मा आधारित रहेर कलाकारको पारिश्रमिक तोकिने हो ।’ अभिनेत्री भन्दा अभिनेताको ‘युनिक सेलिङ प्वाइन्ट’ धेरै भएकाले पारिश्रमिकमा एकरुपता नभएको हमालको बुझाइ थियो । फिल्ममा व्यापारिक पाटो जोडिने भएकाले निर्माताले ‘युनिक सेलिङ प्वाइन्ट’लाई नै प्रथामिकता दिने चलन रहेको हमालले बताए ।

राज्यलाई वर्षेनी ६ वटा संदेशमुलक फिल्ममा लगानी गर्न सुझाव

कार्यक्रममा बोल्ने क्रममा हमालले नेपाली समाज रुपान्तरणका लागि राज्यले मुनाफा र व्यवसायलाई नहेरिकन वर्षेनी कम्तिमा ६ वटा संदेशमुलक फिल्म निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । उनले भने ‘राज्यले के गर्न सक्छ भने, होइन हामि मुनाफा र व्यावसायलाई मध्येनजर राख्दैनौ । तर, हामि चाहन्छौं की वर्षको ६ वटा चाइ राष्ट्रको इतिहाँस झल्काउने, राष्ट्रको राजनीति झल्किने, नारीको भूमिका झल्किने, नारी-पुरुषको सम्वन्धको बारेमा झल्किने खालका फिल्म बनाउन चाहन्छौ भनेर पहल राज्यले गर्ने हो ।’ हमालले थपे ‘ फिल्ममा प्रवेश गरेको व्यापारीले आफ्नो पैसा गुमाउनको लागि फिल्म बनाउदैन ।’

यदि व्यापारीले एक पटकलाई संदेशमुलक फिल्म बनायो । तर, त्यहाँबाट मुनाफा आएन भने त उसले अर्को फिल्म बनाउदैन नि ? राजेशले राज्यलाई प्रतिप्रश्न गर्दै, यदि राज्यले आट्यो भने दिग्गज कलाकारको सहयोग रहने पनि बताए । राष्ट्रिय चलचित्र नीतिमा चलचित्रको संख्या बढ्यो तर गुणस्तर बढ्न सकेन भनेर राज्यले नै स्वीकार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्