युट्युबमा तीन स्टारको प्रतिस्पर्धा



रंगखबर, काठमाडौँ – युट्युब, पछिल्लो समय नेपाली मनोरंजन विधाको सफलता नाप्ने यन्त्र बनेको छ । मनोरंजन विधाका प्राय: सामग्री युट्युबबाटै सार्वजनिक हुन्छन ।

सुरुवाती दिनमा मनोरंजनका सामाग्रीसँग दर्शकले कति अन्तरक्रिया गरिरहेका छन्, युट्युब ट्रेन्डिङ हेरे पुग्छ । विशेष गरि दर्शकको पहिलो रोजाइमा रहेका सामग्री ट्रेन्डमा रहन्छन । र, त्यहि अनुसारको श्रेणीमा आफ्नो उपस्थिति जनाउछन् ।

मंसीर अन्तिम साताको ट्रेन्डिङले बजार तताएको छ । कारण: फिल्म क्षेत्रका लिडिङ लिडर अनमोल केसी/प्रदीप खड्का र संगीत दुनियाँका भाइरल व्वाय अशोक दर्जीको प्रतिस्पर्धा ।

अनमोल स्टारर ‘क्याप्टेन’ गीत, प्रदीप स्टारर फिल्म ‘लिलिबिली’ र अशोक स्टारर ‘चौरीको चाम्रो छुर्पी’ ट्रेन्डिङको टप ३ भित्र छन् । नम्बर १ मा अनमोल र अशोकको प्रतिस्पर्धा जारी छ । कहिले शिर्ष त, कहिलो दोस्रो स्थानमा । प्रदीपको ‘लिलिबिली’ तेस्रो स्थानमा यथावत छ । भ्युजको आधारमा अनमोल र अशोक भन्दा अगाडी रहेपनि प्रदीपलाई शिर्ष स्थानमा आउँन सकस परिरहेको छ ।

एकै दिन तर, छुट्टाछुट्टै समय रिलिज भएका यी तीन मनोरंजनका सामाग्रीले बलिउडको हिट गीत ‘आँख मारे’लाई पनि रिप्लेस गरिदिएका छन् । उसो त प्रिमियर भएको ८ घण्टामै क्याप्टेनको ‘रहर छ सँगै’ एक नम्बरमा उक्लिएको थियो । तर, केहि घण्टामै अशोक दर्जीले उछिन्न सफल भए ।

फिल्म क्षेत्रका केहि चर्चित व्यक्तिले अनमोललाई दिएको मेगास्टारको ट्याग २४ घण्टा पनि टिकेन भन्दै सामाजिक संजालमा उडाइयो । पुन: अनमोल एक नम्बरमा उक्लिए । अहिले अशोक एक नम्बरमा छन् ।

त्यस्तै भ्युजको आधारमा अगाडी प्रदीप छन् । करिब २ घण्टा लामो उनको फिल्मलाई २३ लाखले हेरिसकेका छन् । अनमोलको गीतलाई ११ लाखले हेर्दा अशोक दर्जीलाई २० लाख भ्युज मिलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्