‘सम्हालिन्छ कहिले मन’को कास्टिङमा पूजाको हात



रंगखबर, काठमाडौँ – अहिलेकी हटकेक पूजा शर्मा आगामी फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट दर्शक माँझ आउँदै छिन् । त्रिकोणात्मक प्रेमकथामा बन्ने ‘सम्हालिन्छ कहिले मन’मा उनले नयाँ अनुहार सोनम तोप्देन र नायक आकाश खड्कासँग दोस्रो पटक जोडी बाँध्दैछिन् । जुन फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

सुदर्शन र पुजाले बनाउने फिल्म जहिले कास्टिङलाई लिएर चर्चामा रहन्छन । यसपटक पनि यो शिलशिला जारि रह्यो । आइतबार फिल्मको घोषणा कार्यक्रममा पुजाले कास्टिङका बारेमा हुने गरेका चर्चालाई लिएर केहि कुरा सार्वजनिक गरिन । फिल्मका लागि सोनमलाई पूजाले छनोट गरेकी हुन् । आकाशलाई भने सुदर्शनले । 

सुदर्शनले निर्देशन गर्ने फिल्मको कास्टिङमा पूजाको हात रहन्छ भन्ने खबरलाई खण्डन गर्दै, यसपटक मात्र एक कलाकार आफुले छनोट गरेको पूजाले बताइन । उनले भनिन् ‘सोनमलाई मैले नै छनोट गरेको हो । यसअघि फिल्ममा निर्देशक थापा ज्युले नै कलाकार फाइनल गर्नु हुन्थ्यो । ‘रामकहानी’बाट आकाशसँगको मेरो जोडी अत्याधिक रुचाइए पछि उनलाई दोहर्याउने निर्णय पनि सुदर्शनकै हो ।’

सुदर्शन र पूजाको यो सातौं सहकार्य हो । यसअघि सुदर्शनको निर्देशनमा ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ र ‘रामकहानी’मा पूजाले अभिनय गरिसकेकी छन् । सुदर्शन र पूजा लिड रहेको ‘अझै पनि’लाई भने स्वर्गीय आलोक नेम्वाङले निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्