विश्लेषण: ‘एलिटा’ र ‘गली व्वाय’को चपेटामा ‘बुलबुल’



रंगखबर, काठमाडौँ – फागुन ३ गते रिलिज हुने फिल्म ‘बुलबुल’ पछिल्लो समयमा चर्चा र दर्शकको नजरमा रहेको फिल्म हो । सार्वजनिक ट्रेलर र टिजरबाट प्रतिक्षित बनेको फिल्म नेपाली सोलो जस्तै हो । यसका अलावा यो मितिमा केहि सिंगल स्टेशनमा ‘जोकर’ रिलिज हुनेछ ।

नेपाली फिल्म उद्योगले नै आशा गरेको फिल्मको बक्सअफिस भिडन्त भने सजिलो हुनेछैन । किनकी, ‘बुलबुल’ भन्दा एक दिन अगाडी नेपाली बक्सअफिसमा हलिउड र बलिउडका दुई प्रतिक्षित फिल्म रिलिज हुँदैछन् । 

हलिउडको ‘एलिटा : ब्याटल एन्जल’ र बलिउड ‘गली व्वाय’ नेपाली मल्टीप्लेक्समा रिलिज हुँदा स्वत: ‘बुलबुल’ चपेटामा पर्नेछ । यो साताका लागि ‘बुलबुल’लाई पनि बलियो प्रतिस्पर्धी मानिएको छ । तर, विदेशी फिल्म लाग्दा नेपाली फिल्मप्रति नाक खुम्च्याउने दर्शकको रोजाइमा ‘एलिटा’ र ‘गली व्वाय’ले प्रभाव पार्न सक्छन ।

प्रिभ्यु शोजमा पाएको प्रतिक्रिया अनुसार दुवै विदेशी फिल्म बलिया छन् । त्यसैमा बिहिबारै रिलिज हुँदा उनिहरुलाई ‘माउथ पब्लिसिटी’को भरपुर फाइदा पुग्नेछ । जसको प्रत्यक्ष असर ‘बुलबुल’मा पर्नेछ ।

मल्टीप्लेक्सले दिने शोज संख्यामा समेत विदेशी फिल्मको अग्रता हुने देखिएको छ । मंगलबार खोलिएका अग्रिम बुकिङमा ‘एलिटा’ र ‘गली व्वाय’ले ७० देखि ८० प्रतिशत शोज कब्जा गरिसकेका छन् । बाँकी २० प्रतिशतमा ‘बुलबुल’ र अघिल्लो साता प्रदर्शनरत फिल्मले चित्त बुझाउनु पर्नेछ ।

त्यस्तै सिंगल तर्फ पनि स्वस्तिमा खड्का स्टारर ‘बुलबुल’ले ‘गली व्वाय’को सामना गर्नुपर्नेछ । त्यसका केहि स्टेशनमा ‘समर लभ’ र ‘जोकर’ प्रदर्शित हुनेछन् ।

‘बुलबुल’लाई माउथ पब्लिसिटीको जरुरत 

बिनोद पौडेल निर्देशित फिल्मको ट्रेलर र टिजरबाट दर्शक निक्कै आशावादी छन् । पछिल्लो समय ट्रेलरबाट दर्शक झुक्क्याउने फिल्मको बिगबिगी बढिरहेको अवस्थामा ‘बुलबुल’ टाढा हुन् जरुरि छ ।

ट्रेलरले दिलाएको उत्सुकता यदि फिल्मले दर्साउन सकेन भने ‘बुलबुल’ स्वत: कमजोर सावित हुनेछ । अन्यथा ट्रेलरको प्रभाव छोड्नसके मात्रै केहि राहत हुनेछ । बाँकी दिनमा प्रतिस्पर्धि फिल्मलाई छिचोल्न उत्कृष्ट ‘माउथ पब्लिसिटी’ आवश्यक छ ।

टेम्पो चालिकाको जीवनका उतारचढाव बोकेको फिल्ममा मुकुन भुषाल, जोएस पाण्डे, लक्ष्मी वर्देवा, दीपक क्षेत्री, उज्जल अधिकारीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्