मल्टीप्लेक्समा ‘बुलबुल’लाई २०, ‘गली व्वाय’ले ओगट्यो ४७ प्रतिशत स्थान



रंगखबर, काठमाडौँ – फागुन ३ गते रिलिज  हुने प्रतिक्षित फिल्म ‘बुलबुल’का लागि मल्टीप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । बिनोद पौडेल निर्देशित फिल्मले भने सुरुवातमा उल्लेख्य शोज पाउन सकेको छैन । बलिउडको ‘गली व्वाय’ र हलिउडको  ‘एलिटा : ब्याटल एन्जल’ले ‘बुलबुल’लाई चपेटामा पारेका छन् ।

क्युएफएक्सका ८ ओटा स्टेशनसँगै देशका अन्य पाँच मल्टीप्लेक्सले शुक्रबारका लागि १ सय ४५ शोज निर्धारण गरेका छन् । जसमध्ये ४६.८९ प्रतिशत स्थान ओगट्दै ‘गली व्वाय’ले शिर्ष स्थान कायम गरेको छ। भने, दोस्रो स्थानमा रहेको ‘एलिटा’ले ३१.०३ प्रतिशत शोज कब्जा गरेको छ । यी दुई फिल्मले क्रमस ६८ र ४५ शोज पाएका छन् ।

त्यस्तै ‘बुलबुल’ले १४५ शोजमा २० प्रतिशत शोज अतिक्रमण गरेको छ । जसमा २९ शोज अटाएका छन् । बाँकी २.०६ प्रतिशतमा अघिल्लो साता रिलिज फिल्म छन् ।

अघिल्लो साता रिलिज ‘समर लभ’को तुलनामा ‘बुलबुल’को शोज ७.६४ प्रतिशतले कम हो । स्वस्तिमा खड्का स्टारर फिल्मलाई क्युएफएक्सका च्यानलले १७, बिएसआर/एफक्युबले २/२ र बिग मुभिज/सिडीसी/क्युजले समान २/२ शोज छुट्ट्याएका छन् ।

कम शोज पाएपनि निर्माण पक्षले ‘बुलबुल’को ‘माउथ पब्लिसिटी’मा भर परेको छ । यदि सकारात्मक प्रतिक्रिया पाए आउँदा दिनमा ‘बुलबुल’लाई केहि सहज हुनेछ । त्यसको लागि अन्य फिल्मको दर्शक प्रतिक्रियाले पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।

उसो त विदेशी दुवै फिल्मले रिलिज पुर्वका स्पेशल शोमा उत्कृष्ट प्रतिक्रिया बटुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्