आमिरका नामका ६ ठुला रेकर्ड



रंगखबर, काठमाडौँ – आज मार्च १४ मा बलिउडका ‘मिस्टर पर्फेक्टनिस्ट’ आमिर खानको जन्मदिन परेको छ । सन् १९६५ मा भारतको मुम्बईमा जन्मेका आमिर बलिउडका प्रतिभाशाली अभिनेताको सुचीमा पर्छन । उनि आजबाट ५४ औँ बसन्तमा उक्लिएका छन् ।

बलिउडमै साढे दुई दशक बिताएका आमिर उत्कृष्ट फिल्म खेल्ने अभिनेता हुन् । त्यस्तै पछिल्लो समय बलिउड बक्सअफिसका थुप्रै रेकर्ड आमिरका नाममा छन् । 

घरेलु बक्सअफिसमा सय करोड क्लबको सुरुवात 

सन् २००८ मा रिलिज भएको ‘गजिनी’ले भारतीय बक्सअफिसमा पहिलो पटक सय करोड माथिको कमाई गरेर हँगामा मच्चाएको थियो । एक्सन थ्रिलर माथि एक्सपेरिमेन्ट गरेका आमिरलाई त्यस समय ठुलो चुनौती थियो । तर, बक्सअफिसमा रिलिज भएसँगै फिल्मले चुनौतीहरु चिर्दै बलिउडको लागि ठुलो ढोका खोलिदिएको थियो । अहिले यो क्लबमा ६० बढी फिल्म सुचीकृत भैसकेका छन् ।

२ सय करोड क्लबमा पहिलो ‘थ्री इडीएट्स’

‘गजिनी’ रिलिज भएको एक वर्ष पश्चात आमिरले ‘थ्री इडीएट्स’ फिल्म रिलिज गरे । यस पटक पनि बक्सअफिसमा उनको सुनौलो झण्डा गाड्न सफल भए । ५५ करोडको बजेटमा निर्मित फिल्मले घरेलु बक्सअफिसमा २ सय करोड क्लब पनि स्थापना गरिदियो । आज भन्दा दश वर्ष अगाडी २ सय २ करोडको व्यापार गरेको फिल्मको लोकप्रियता अझैं पनि उस्तै छ । यस क्लबमा अहिलेसम्म ९ फिल्म समावेश भैसकेका छन् ।

३ सय करोड क्लब पनि आमिर कै नाममा 

त्यति मात्र होइन । २०१४ मा रिलिज भएको ‘पिके’ले ३ सय करोडको माइलस्टोन पार गर्दै अर्को क्लब स्थापना गरिदियो । यस क्लबमा अहिलेसम्म बलिउडका ७ फिल्म सामेल भैसकेका छन् । 

बलिउडको सर्वाधिक कमाउने फिल्म 

२०१६ मा रिलिज भएको ‘दंगल’ बलिउडकै सर्वाधिक कमाई गर्ने फिल्म हो । यो रेकर्ड पनि आमिर कै नाममा छ । फिल्मले घरेलु बक्सअफिसमा मात्रै ३ सय ८७ करोडको व्यापार गर्न सफल भएको थियो ।

भारतकै सर्वाधिक ग्रस कमाउने फिल्म 

‘दंगल’ विश्वव्यापी सर्वाधिक ग्रस कलेक्सन गर्ने भारतीय फिल्म पनि हो । फिल्मले विश्वव्यापी १८ सय करो माथिको कारोबारो गरेको थियो । यो कारोबार दक्षिण भारतीय फिल्म ‘बाहुबली २’को भन्दा धेरै हो ।

पहिलो दिन सर्वाधिक कमाईको रेकर्ड 

गत वर्ष रिलिज ‘ठग्स अफ हिन्दोस्तान’ पहिलो दिन सर्वाधिक कमाउने बलिउड फिल्म हो । यसले पहिलो दिनमै ५० करोड ७५ लाख कमाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्