मंगलबार पनि ‘ए मेरो हजुर ३’को दबदबा कायमै, ४ करोड माथिको व्यापार



रंगखबर, काठमाडौँ – २०७५ को अन्तिममा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’को ४ दिने बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । वितरकले दिएको जानकारी अनुसार फिल्मले ४ दिनमा ४ करोड १ लाख ग्रस कलेक्सन गर्न सफल भएको छ ।

यो कलेक्सन ‘छक्का पन्जा ३’ पछिकै उत्कृष्ट हो । अनमोल केसी र सुहाना थापा अभिनित फिल्मले रिलिजको पहिलो दिन देशभरबाट ७५ लाख ग्रस बटुलेको थियो । त्यस्तै दोस्रो दिन अर्थात शनिबार १ करोड १४ लाखको व्यापार गर्यो । नयाँ वर्षको दिन व्यापारमा ग्राफ उकालो लाग्दा देशव्यापी १ करोड ५० लाख ग्रस कमाउन सफल भयो ।

पहिलो विकेन्डमा ३ करोड ३९ लाखको व्यापार गर्दा सोमबारको कलेक्सन पनि उत्साहजनक नै रह्यो । सोमबार फिल्मको कलेक्सन ६२ लाख छ । पहिलो दिनको तुलनामा चौथों दिनको व्यापारमा जम्मा १७.३३ प्रतिशत मात्र गिरावट आएको छ । जुन फिल्मको लागि सुखद पक्ष हो ।

झरना थापा निर्देशित फिल्म २ करोड १० लाखको बजेटमा निर्माण भएको हो । अर्पण थापा, सलोन बस्नेत, रेअर राई, रविन्द्रा झा लगायतका कलाकारले पनि अभिनय गरेको फिल्मले पहिलो साता भित्रै लगानी उठाउने छ ।

मंगलबार पनि घटेन व्यापार 

फिल्मको बलियो ‘वर्ड अफ माउथ’ले गर्दा देशभरका हलमा मंगलबार पनि ‘ए मेरो हजुर ३’कै दबदबा रहेको छ । मल्टीप्लेक्स लगायतका स्टेशनमा ५० देखि ६० प्रतिशतसम्मको अकुपेन्सीले फिल्मको व्यापार उल्लेख्य गिरावट नहुने फिल्मी पण्डितको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्