वर्षका १० अनस्क्रिन जोडी, जो दर्शकमाँझ छाए



रंगखबर, काठमाडौँ – गत वर्षलाई फर्केर हेर्दा ९० बढी फिल्म रिलिज भए । केहि समिक्षात्मक रुपमा सफल र केहि व्यावसायिक रुपमा सफल भए । अघिल्लो वर्षको तुलनामा कमजोर देखिएको साल २०७५ मा दर्जनौँ स्क्रिन शेयर गरेका कलाकार जोडीलाई दर्शकले माया दिए ।

पहिलो पेयारिङ होस या २०७५ मा दोहरिएका अनस्क्रिन जोडी कथा, प्रस्तुति र फोटोजेनिकका कारण सुहाउँदा थिए । जो दर्शकमा मनमा बस्न सफल भए । रंगखबरले गत सालका १० उत्कृष्ट जोडीको सुची तयार गरेको छ ।

विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना

निर्देशक नरेश कुमार केसीले विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको जोडी लिएर प्रेमकथानक ‘रोमियो एण्ड मुना’ बनाए । फिल्म व्यावसायिक रुपमा सफल नभएपनि विनय र सृष्टिको केमेस्ट्री र प्रेमकथा दर्शकले रुचाए ।

शहरिया वेद र गाउँले मुनाको प्रेम र जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरेको फिल्म वर्षकै उत्कृष्ट  मध्येको एक हो । कथा, गीत र पोस्टरमा यो जोडी चम्किलो देखियो ।

विपिन कार्की र नम्रता श्रेष्ठ – प्रसाद

लभस्टोरी फिल्म निर्देशन गरि ख्याति कमाएका दिनेश राउतले पर्दामा पहिलो पटक विपिन कार्की र नम्रता श्रेष्ठको जोडी बाँधिदिए । अन्तरजातीय प्रेम र नि:सन्तानको पिडा उतारेको फिल्ममा विपिन र नम्रताले पति-पत्नीको भूमिका निर्वाह गरेका थिए ।

मर्मस्प्रशी गीत ‘लै लै’ले यो जोडीको केमेस्ट्रीलाई अझ बुलन्द बनाइदियो । जो कोहि नेपालीले गीतका शब्दमा यो जोडीको वैवाहिक जीवन र प्रेमलाई महशुस गरे । अभिनयबाट पनि मन जितेको बाबुराम (विपिन) र नारायणी (नम्रता)को जोडीलाई दर्शकले झट्टै विर्सिदैनन ।

कविता गुरुङ र उमेश थापा – बोबी

नर्वेका एनआरएन कविता गुरुङ/उमेश थापा र उनिहरुको रियल कथालाई लिएर निर्देशक मिलन चाम्सले ‘बोबी’ निर्माण गरे । यी दुईको जीवनका उतारचढाव, प्रेम र संघर्षलाई प्रस्तुत गरिएको फिल्मलाई दर्शकले पनि रुचाए ।

उमेश र कविताको प्रेम हलमा लामो समय टिक्यो । साथै, युट्युबमा पनि यो जोडीलाई अत्याधिक खोजियो र रुचाइयो पनि ।

साम्राज्ञी राज्यलक्ष्मी राणा र धिरज मगर – इन्टु मिन्टू लण्डनमा

कोरियोग्राफर हुँदै निर्देशनमा हात हालेकी रेनाषा वान्तवा राईले हटकेक साम्राज्ञी राज्यलक्ष्मी राणाको जोडी न्युकमर धिरज मगरसँग बाँधिदिइन । फिल्मको चम्किलो मेकिङमा यी दुईको जोडी प्रफेक्ट देखियो ।

गीतका दृश्य हुन या पोस्टरमा यो जोडीको केमेस्ट्री लोभलाग्दो देखियो । फिल्मले बक्सअफिसमा एभरेजको व्यापार गर्दा यहि फिल्मबाट धिरज चम्किए ।

पूजा शर्मा र आकाश श्रेष्ठ – रामकहानी

वर्षकै सर्वाधिक रुचाएको रुपमा पूजा शर्मा र आकाश श्रेष्ठको जोडी अग्रस्थानमा आउँछ । त्यसैले त यी दुई छोटो समयमै अन्य दुई फिल्ममा स्क्रिन शेयर गर्ने पक्का भैसकेको छ ।

निर्देशक सुदर्शन थापाले ‘रामकहानी’बाट भित्र्याएको पूजा र आकाशको जोडीलाई ‘सम्हालिन्छ कहिले मन’ र ‘पोइ पर्यो काले’मा पनि दर्शकले हेर्न पाउने छन् । विशेषत: युट्युबका दर्शकले यो जोडीको अन्तर्वार्ता धेरै पछ्च्याउने गर्छन ।

प्रदीप खड्का र जसिता गुरुङ – लभ स्टेशन

२०७४ सालको अन्तिममा फिल्म ‘लिलिबिली’बाट भित्रिएको प्रदीप खड्का र जसिता गुरुङको जोडीले गत वर्ष ‘लभ स्टेशन’ लिएर आयो । तर, फिल्मले बक्सअफिसमा कुनै कमाल देखाउन सकेन । सिवाय यो जोडी जमेको प्रशंसा हुनु बाहेक ।

पहिलो फिल्मबाट नजिकिएको यो जोडी प्रेममा रहेको गसिपले वर्ष भरि मिडिया तताइरहे । सम्भवत: प्रदीपले आफ्नो करिअरमा स्क्रिन शेयर गरेका अभिनेत्री मध्ये जसितासँग केमेस्ट्री काफि सुहाउँछ ।

गौरव पहारी र मेनुका प्रधान – साइँली

दुई वर्ष अगाडीको सुपरहिट गीत ‘चालिस कटेसी रमाउँला’को ‘साइँली’ शब्द र कलाकार गौरव पहारी/मेनुका प्रधानलाई सापटी लिएर निर्देशक रामबाबु गुरुङले पर्दामा उतारे । पहिले पनि केहि फिल्म गरिसकेको यो जोडीलाई ‘साइँली’मा पनि दर्शकले रुचाए ।

फिल्मले समिक्षकबाट पनि तारिफ बटुल्यो । भने, मेनुकाको अभिनयले प्रशंसा कमायो ।

अनमोल केसी र सुहाना थापा – ए मेरो हजुर ३

वर्षको अन्त्यमा रिलिज भएको ‘ए मेरो हजुर ३’को जोडी अनमोल केसी र सुहाना थापालाई पनि दर्शकले औधि माया दिए । गीत, पोस्टर र रोमान्टिक दृश्यमा यी दुईको जोडी पर्फेक्ट देखियो ।

जोडीको क्रेजले गर्दा नै ‘ए मेरो हजुर ३’ले खडेरी लागेको हलमा दर्शकको उल्लेख्य बर्षात गरिदियो । यो जोडीलाई निर्देशक झरना थापाले जुराएकी थिइन । दर्शकले राधा-कृष्ण भनि यो जोडीलाई पुकार्ने गर्छन ।

स्वस्तिमा खड्का र मुकुन भुषाल – बुलबुल

वर्षकै दर्शकको मन जित्न सफल जोडीमा स्वस्तिमा खड्का र मुकुन भुसालको अग्रपंतिमा आउँछ । निर्देशक बिनोद पौडेलले जुराएको जोडी लामो समयसम्म दर्शकको मन/मस्तिस्कबाट हटेन ।

यी दुई फिल्ममा बोलेका मौलिक संवाद अहिले पनि दर्शक मानसपलटमा ताजै छन् । समिक्षकबाट वाहवाही बटुलेपनि फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन ।

अनुभव रेग्मी र सेड्रीमा शर्मा – नाइँ नभन्नु ल ५

इतिहाँसकै लामो सिरिज ‘नाइँ नभन्नु ल’का हिरो पात्र हुन् अनुभव  रेग्मी । दोस्रो सृंखलाबाट ‘नाइँ नभन्नु ल’मा भित्रिएका अनुभव लगातार ४ सृंखलासम्म देखिने कलाकार हुन् । प्रत्येक सृंखला नयाँ बाल नायिकासँग जोडी जमाउँदै आएका अनुभवले यसपटक सेड्रीना शर्मालाई पाए ।

यी दुईको जोडी दर्शकले रुचाएनन मात्र अभिनयले पनि तारिफ पायो । बिकाशराज आचार्य निर्देशित फिल्म बक्सअफिसमा सुपरहिट पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्