‘राता मकै’को नजरमा पुष्प लामो रेसको घोडा



रंगखबर, काठमाडौँ – बहुप्रतिक्षित फिल्म ‘दाल भात तरकारी’ बैशाख २० बाट देशभरका हलमा प्रदर्शन हुँदैछ । महासंचारको प्रस्तुति, मल्टीस्टारको जमघट र गीत/संगीतले गर्दा फिल्मको हाइप उचाईमा छ ।

वर्षकै पहिलो आशा गरिएको फिल्ममा पुष्प खड्का र आँचल शर्माले जोडी बाँधेका छन् । ‘अझैँ पनि’ फिल्मबाट सहायक भूमिकामा डेब्यु गरेका पुष्पको लागि रिलिजको हिसावले ‘दाल भात तरकारी’ चौथौँ फिल्म हो । डेब्यु र ‘दर्पण छायाँ २’ बक्सअफिसमा असफल भए पनि ‘मंगलम’ले पुष्पलाई राहत दियो ।

बक्सअफिसमा ठिकठाक कमाई गरेको फिल्मबाट उनले अभिनय क्षमता देखाए । त्यसैले त ‘दाल भात तरकारी’ र ‘मारुनी’ जस्ता बिग बजेटका फिल्ममा काम गर्ने अवसर मिल्यो । गत वर्ष मात्रै उनले ब्लकबस्टर फिल्म ‘छक्का पन्जा ३’बाट हात झिकेका थिए ।

केहि समय अगाडी मात्रै एक फिल्मका लागि ३० लाख पारिश्रमिक मागेको खबरले पुष्प चर्चामा पुगे । २-३ वर्ष अगाडीसम्म म्युजिक भिडियोमै रमाइरहेका पुष्पले छोटो समयमै गरेको प्रगतिलाई लिएर निर्माता/कलाकार किरण केसी (राता मकै) खुसी छन् ।

उनि फिल्मको अन्तर्वार्तामा पुष्पको लगाव, व्यवहार, नृत्य र अभिनयको प्रशंसा गरेर थाक्दैनन् । उनि भन्छन ‘पुष्प लामो रेसको घोडा हो । स्वर्गीय श्रीकृष्ण श्रेष्ठ र दीलिप रायमाझी पश्चात ‘फुल मूड’मा नृत्य गर्न सक्ने पुष्पनै हो । पखेटा फिजाएर हे…हे भन्दै, हिरोइनलाई अँगालोमा बेर्ने कलाकार अरुपनि छन् । तर, गीतको भाव बुझेर कुनै पनि ‘डान्स स्टाइल’मा आफुलाई ढाल्न सक्ने खुवी उसमा छ ।’

‘पर्ख पर्ख मायालु’, ‘भिजिट भिषामा’ र ‘दाल भात तरकारी’को शिर्ष गीतको प्रस्तुतिको उदाहरण दिँदै केसी भन्छन ‘लामो समय भैसकेको थियो डान्सर हिरो नजन्मेको । अब पुष्पले त्यसको परिपूर्ति गर्नेछ ।’

किरण ‘दाल भात तरकारी’का प्रस्तुतकर्ता पनि हुन् । यसै फिल्मबाट छोरा सुदन केसीलाई उनले निर्देशनमा डेब्यु गराएका छन् । फिल्ममा पुष्प र आँचलसँगै मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, नीरुता सिंह, वर्षा राउत, प्रियंका कार्की, शिशिर बांग्देललगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्