आदित्यले राजधानी झुमाउने



रंगखबर, काठमाडौँ – बलिउड कलाकार आदित्य नारायण झा नेपाल झिकिने भएका छन् । उनलाई लाइभ कन्सर्टका लागि क्लब फरेनहाइटले नेपाल झिकाउन लागेको हो ।

केहि वर्ष अगाडी पोखरा दर्शक झुमाएका आदित्यले जुलाई पहिलो साता काठमाडौँ झुमाउने छन् । बलिउड पार्श्वगायन र रियालिटी शो होस्टिङमा स्थापित भैसकेका आदित्यले नेपाली फिल्मको गीतमा पनि स्वर रेकर्ड गराइसकेका छन् । फिल्म ‘आशिर्वाद’बाट बालगायकको रुपमा डेब्यु गरेका उनले ‘कुशुमे रुमाल २’को गीत पनि गाएका छन् ।

भारतीय चर्चित रियालिटी शो सारेगमप, एक्स फ्याक्टर, इन्टरटेनमेन्ट कि रात, राइजिङ स्टार ३, किचेन च्याम्पियन र खतरा खतरा खतरा होस्ट गरिसकेका आदित्यले ‘रंगीला’ मार्फत बालकलाकारको रुपमा डेब्यु गरेका थिए । त्यसपछि ‘प्रदेश’ र ‘जब प्यार किसिको होता हे’मा अभिनय गरेका उनले ‘शापित’ नामक फिल्मबाट अभिनेताको रुपमा डेब्यु गरेका थिए ।

वरिष्ठ पार्श्वगायक उदित नारायण झा र दीपा झाको पुत्र आदित्यले ‘रामलीला’, ‘शापित’, ‘चल चलें’, ‘ताल’, ‘वीवी नम्बर १’, ‘रंगीला’लगायत थुप्रै बलिउड फिल्ममा स्वर दिइसकेका छन् ।

आदित्यलाई दर्शक/श्रोताको अत्याधिक मागका कारण नेपाल ल्याउन लागेको आयोजक क्लब फरेनहाइटले बताएको छ । उक्त लाइभ शोमा इन्ट्री पाउन जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ । कार्यक्रमकै समयमा टिकेट खरिद गर्न गएमा यसमा ५ सय थप लाग्ने समेत आयोजकले जनाएको छ ।

गत साता मात्रै बलिउडकी लोकप्रिय पार्श्वगायिका नेहा कक्कर नेपाल आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्