नम्रताको ‘जाइरा’ रुप



रंगखबर, काठमाडौँ – अभिनेत्री नम्रता श्रेष्ठको कारण फिल्म ‘जाइरा’ चर्चामा छ । चर्चामा आउनुको मुख्य कारण, उनले निभाएको भूमिका नै हो । यसअघि प्रेमकथानक फिल्ममा आफ्नो जादुयी अभिनय पस्किसकेकी नम्रता यसपटक मिक्स मार्शल आर्ट (एम.एम.ए) खेलाडीको भूमिकामा दर्शक माझ आउँदै छिन् ।

फिल्मको पोस्टरमा पनि उनको भिन्न अवतार छ । यसपटक छोटो कपाल र सुगठित शरीरमा आफुलाई उभ्याएकी छन् । मिक्स मार्शल आर्टसँग सम्बन्धित थुप्रै प्रचारका सामाग्री बाहिरिए पनि फिल्मको केन्द्रिय द्वन्द बदला हो ।

टिजरमा नम्रताको दुई रुप प्रस्तुत गरिएको थियो । जहाँ नम्रतालाई लाचार र बलियो महिलाको रुपमा देखाइएको छ । प्राय: नेपालमा महिला केन्द्रित फिल्मले खासै सफलता पाउन सकेका छैनन् । अभिनेत्री रेखा थापाको केहि फिल्मलाई छोड्दा नतिजा दयनीय छ । त्यसैले यसपटक नम्रतालाई ठुलो चुनौती छ । के ‘जाइरा’ले बक्सअफिसमा सफल अवतरण गर्ला ?

भदौ ६ गते रिलिज हुने फिल्मलाई नव-निर्देशक आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा  अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर पनि अभिनय छ ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत भरेको फिल्ममा सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले एक्सन कोरियोग्राफीको काम गरेका छन् । बाबु श्रेष्ठले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ ।

प्रतिक्रिया दिनुहोस्