आयुषमानको झोलामा फ्लप फिल्मको थुप्रो



रंगखबर, काठमाडौँ – ‘चपली हाइट २’बाट डेब्यु गरेका अभिनेता आयुषमान देशराज जोशीलाई बक्सअफिस फापेको छैन । पहिलो फिल्म पछि आयुषमानको तीन फिल्म रिलिज भैसकेका छन् । तर, सफलता शुन्य छ ।

आशा गरिएको ‘चपली हाइट २’ बक्सअफिसमा खरो उत्रन सकेन । पहिलो सिरिज बक्सअफिसमा सुपरहिट थियो । तर, दोस्रोले कमाल गर्न सकेन । फिल्म फ्लप भएपनि आयुषमानको कामलाई दर्शकले रुचाए । दोस्रो फिल्म ‘कथा काठमाडौँ’बाट पनि आयुषमान निरास हुनुपर्यो । यो फिल्मबाट न आयुषमानको कामको तारिफ भयो, न त बक्सअफिसमा टिक्न सक्यो । यो फिल्म आए-गएको पत्तै भएन ।

दुई फिल्मबाट निरास बनेका आयुषमानलाई ‘चंगाचेट’को ठुलो आशा थियो । फिल्म क्षेत्रले पनि आशा बोकेको ‘चंगाचेट’ बक्सअफिसमा खरो उत्रन सकेन । फिल्म लगानीको मुखमा पुग्न नपाउदै हलबाट उत्रियो । आयुषमानको करिअरमा थोरै चलेको फिल्म ‘चंगाचेट’ हो । तर, सफलता भने पाउन सकेन ।

चौथों फिल्म ‘प्रेम दिवस’मा आयुषमानले प्रेमिका प्रियंका कार्कीसँग जोडी बाँधे । तर, प्रेम फापेको यो जोडीलाई ‘प्रेम दिवस’ फापेन । यो फिल्म आयुषमानको करिअरमा संख्या बढाउन मात्रै काम लाग्यो । फिल्म यति कमजोर थियो, बक्सअफिसमा हप्ता दिन पनि टिक्न सकेन ।

यो फिल्म रिलिजको पहिलो सातामै देशका लगभग सबैजसो मल्टीप्लेक्सबाट उतारिएको छ, भने सिंगलका केहि स्टेशनमा यथावत छ । बक्सअफिसको प्रदर्शनलाई हेरेर फिल्मले नेपालबाट लगानी उठाउने सम्भावना सकिएको छ । भलै फिल्म फ्लप होस्, आयुषमानले कामबाट भने तारिफ बटुले । यसमा पागलप्रेमीको भूमिका निर्वाह गरेका आयुषमानले दर्शकको मन जिते ।

करिअरको सुरुवातमै चार फिल्म लगातार फ्लप दिएका आयुषमानको असार २० गते ‘सानो मन’ रिलिज हुँदैछ । ट्रेलर र गीतबाट तारिफ बटुले पनि युट्युबमा सार्वजनिक सामाग्रीले सफलता पाउन सकेका छैनन् । त्यसैले आयुषमानको पाँचौं फिल्म के होला भन्ने त्रास उत्पन्न भएको छ ।

तस्विर: गूगल

प्रतिक्रिया दिनुहोस्