‘कबड्डी कबड्डी कबड्डी’ टिजर: दयाहाङको नयाँ प्रेमिका उपासना



रंगखबर, काठमाडौँ – हिट सिरिज ‘कबड्डी’को तेस्रो भाग ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । डेढ मिनेट लामो टिजरमा दयाहाङ राई (काजी)को प्रेम देखाइएको छ ।

दोस्रो भागमा रिश्मा गुरुङ (मैया) र सौगात मल्ल (बमकाजी)को विवाहको दृश्यमा कथाको बिट मारिएको थियो । तर, मैया र बमकाजीले विवाह गरेको खुलाइएको थिएन ।

टिजरमा काजी मैयाप्रतिको प्रेममै रुमल्लिएका छन् । जब उपासना सिंह ठकुरीको प्रवेश हुन्छ, काजीको मन पनि बदलिन्छ । टिजरमा मैयालाई प्रस्तुत गरिएको छैन । फिल्ममा उनको पनि मुख्य भूमिका छ ।

उसो त टिजरको पोस्टरमा समेत मैया अटाएकी छैनन् । यसले दर्शकमाँझ कौतुहलता जगाउछ । दयाहाङ र उपासना बीचको प्रेममा रिश्माको कस्तो इन्ट्री रहला ?

रामबाबु गुरुङ निर्देशित फिल्ममा कर्मा, विल्सनविक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेललगायतका कलाकारको पनि अभिनय छ ।

भदौ १३ गते रिलिज हुने फिल्म रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमा आर्ट, बाँसुरी फिल्मस र माउन्टेन स्टोरिजको व्यानरमा निर्मित फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओमचन्द रौनियार र रुदेन सदा लेप्चाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्