नेपालले जित्यो सार्कमा २ अवार्ड



रंगखबर, काठमाडौँ – श्रीलंकामा सम्पन्न ९ औँ ‘सार्क फिल्म फेस्टिवल’मा नेपालले दुई अवार्ड हात पारेको छ । फिल्म ‘बुलबुल’बाट अभिनेत्री स्वस्तिमा खड्काले ‘वेष्ट पफर्मर जुरी अवार्ड-२०१९’ जितेकी हुन् ।

जुलाई २ देखि ७ तारिखसम्म चलेको समारोहमा अविनाश विक्रम शाह निर्देशित सर्ट फिल्म ‘टाटिनी’ (द मून लाइट इज ब्राइट टुनाइट)ले जुरी अवार्ड जित्यो । १२ विधा समावेश समारोहमा दुई अवार्ड नेपालले जित्दा चलचित्र बिकास बोर्ड नेपालले खुसि व्यक्त गरेको छ ।

विनोद पौडेल निर्देशित ‘बुलबुल’मा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । गत वर्ष रिलिज फिल्म मध्ये स्वस्तिमाले निभाएको रणकलाको भूमिकाले सर्वाधिक तारिफ बटुलेको थियो । आफ्नो फिल्मी करिअरकै पहिलो अवार्ड, त्यो पनि अन्तरराष्ट्रिय प्रतिस्प्रर्धामा जित्न पाउँदा स्वस्तिमाले खुसि व्यक्त गरेकी छन् ।

यसपटक सार्कमा नेपालको तर्फबाट ‘बुलबुल’सँगै ‘प्रसाद’ र ‘हरि’ले पनि सहभागिता जनाएका थिए । तर, ‘हरि’ प्रतिस्पर्धामा थिएन । त्यस्तै सर्ट फिल्म अन्तर्गत ‘द रिमेन्स’ पनि प्रतिस्पर्धामा थियो ।

त्यस्तै ७ औँ संस्करणमा नेपालले तीन महत्वपूर्ण विधामा अवार्ड जितेको थियो । फिल्म ‘डाइङ क्यान्डल’बाट भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जित्दा मिन भाम निर्देशित ‘कालो पोथी’ले ‘बेस्ट फिल्म ओपन’ अन्तर्गतको अवार्ड उचालेको थियो । ‘कालो पोथी’बाटै जेसन कुँवरले ‘बेस्ट ओर्जिनल स्कोर’मा अवार्ड जितेका थिए ।

सन् २०१४ मा पनि अभिनेत्री गरिमा पन्तले फिल्म ‘झोला’ मार्फत उत्कृष्ट अभिनेत्रीको अवार्ड आफ्नो पोल्टामा पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्