ट्रेलर: आर्यन वरिपरि घुम्ने ‘हजार जुनीसम्म’



रंगखबर, काठमाडौँ – लभरव्वाय आर्यन सिग्देल अभिनित फिल्म ‘हजार जुनीसम्म’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलर आर्यनको वरिपरि घुमेको छ । प्रेमिकाको पर्खाइमा १४ वर्ष विताएका एक अधवैशें पुरुषको भूमिका आर्यनले निर्वाह गरेका छन् ।

बिकाशराज आचार्य निर्देशित फिल्मको ट्रेलर निक्कै भ्रममा पार्ने खालको छ । ट्रेलरमा आर्यनको जोडी ठम्याउन हम्मे पर्छ । सम्भवत: संचिता लुइँटेल र प्रियंका कार्की आर्यनको जोडी हुनु पर्दछ । तर, प्रियंकालाई ट्रेलरमा कतै पनि अटाइएको छैन ।

उसो त दर्शक भ्रममा पार्न निर्देशकले आर्यन र स्वस्तिमा खड्काको दृश्य र संवादलाई क्रमवद्द रुपमा मिलाएर राखेका छन् । फिल्ममा स्वस्तिमा र नव-कलाकार अखिलेश प्रधानको जोडी हुन् सक्ने आधारहरु पनि छोडिएको छ ।

सुपरहिट सिरिज ‘नाइँ नभन्नु ल’को जन्मदाता एवं निर्देशक बिकाशराजले निर्देशन गरेका कारण पनि ‘हजार जुनीसम्म’ दर्शकको प्रतिक्षामा छ । फिल्म साउन ३० देखि अलनेपाल रिलिज हुँदैछ ।

यसअघि भदौ ६ मा सारिएको फिल्म अन्तिम समयमा आएर पुरानै डेटमा सिफ्ट भएको छ ।

निर्देशक आचार्यसँगै सामिप्यराज तिमिल्सिनाको पटकथा/संवाद रहेको फिल्ममा आर्यन, प्रियंका, संचिता, स्वस्तिमा, अखिलेशसँगै सलोन बस्नेत, शिवहरी पौडेल, अनुभव रेग्मीको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्