फिल्म निर्माणमा तीव्रता, कान्तिपुर फिल्म एकेडेमीले ‘म’ बनाउने



रंगखबर, काठमाडौँ – साउन २० गते नेपाली हिन्दु धर्मालम्बीहरुले नागदेवको पुजा आराधना गरि यस सालको नाग पंचमी मनाए । भनिन्छ श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी पर्वसँगै हिउँद सुरु हुन्छ । र, मनसुनले विदा माग्छ ।

मनसुन कृषकको लागि उपयुक्त मानिए पनि फिल्म छायाँकनको लागि भने बाधा बनिदिन्छ । २०७६ सालको मनसुनले विदा माग्ने बेला भएसँगै धमाधम नेपाली फिल्म घोषणा हुन् थालेका छन् ।

पछिलो ३ दिन तीन फिल्म घोषणा भए । शनिबार विपिन कार्कीको मुख्य भूमिका रहने ‘सेल्फी किङ’ले भदौ १० देखि छायाँकनमा जाने जानकारी दियो । आइतबार भदौ १८ देखि छायाँकनमा उत्रिने गरि ‘षट्कोण’ घोषणा गरियो । जहाँ कर्मा शाक्य र भोलाराज सापकोटाको मुख्य भूमिका रहनेछ ।

फिल्म निर्माणमा कमि आएको गुनासो भैरहेको वर्षमा सोमबार अर्को नयाँ फिल्मको घोषणा गरियो । लामो समयदेखि फिल्म सम्वन्धि अध्यापन गराउदै आएको कान्तिपुर फिल्म एकेडेमीले ‘म’ घोषणा गर्यो ।

परिच्छेद सेनले निर्देशन गर्ने फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइलील, पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लगायतले अभिनय गर्नेछन् । भने, बालकलाकारको रुपमा उनभ श्रेष्ठ र सम्पन्न ढकाल फाइनल भएका छन् ।

विजय र सरिता बाहेक अन्य कलाकार एकेडेमीकै विद्यार्थी हुन् । फिल्मको लेखक समेत रहेका एकेडेमीका सिइओ प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न यो कदम चालिएको बताए ।

फिल्ममा तेन्जिन पाल्देनको छायाँकन र किरण भुषालको संगीत रहनेछ । भदौ पहिलो सातादेखि छायाँकनमा जाने फिल्ममा पहिलो पटक कवितामाथि संगीत भरिने बताइएको छ । जसमा बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालको स्वर रहनेछ ।

प्रतिक्रिया दिनुहोस्