रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी



रंगखबर, काठमाडौँ – वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । शनिबार डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षीय सुभद्राले अन्तिम सास लिईन । सुभद्रा लामो समयदेखि दमको बिरामी थिइन् ।

बि.स: २००४ सालमा जन्मिएकी सुभद्राको १ छोरा र १ छोरी छन् । नेपाली सिनेमा क्षेत्रको धरोहरको रुपमा योगदान दिएकी सुभद्राले सन् १९७४ को सिनेमा ‘मनको बाँध’बाट ठुलो पर्दाको अभिनय यात्रा थालनी गरेकी थिइन् । २२ वर्षको उमेरमा डेब्यु गरेपनि उनले ‘मनको बाँध’मा कपाल सेतो बनाएर पाको महिलाको भूमिका निर्वाह गरेकी थिइन् ।

सुभद्राले नेपाली नाटक हुँदै सिनेमामा अभिनयको यात्रा सुरु गरेकी थिइन् । पाँच वर्षको उमेरमै बालकलाकारको रुपमा नाटकमा स्थापित भैसकेकी सुभद्राले थुप्रै नाटक र सिनेमामा जिवन्त अभिनय पस्केकी छन् ।

चिनो, कन्यादान, बसन्ती, मुनामदन, बदलिँदो आकाश, बासुदेव, चट्याङ, अल्लारे, मिस्टर रामकृष्णे, बाटो मुनिको फुल, मसान, दशगजाजस्ता थुप्रै नेपाली सिनेमामा अभिनय गरेकी सुभद्रालाई २०७३ को राष्ट्रिय अवार्डद्वारा लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्