‘छ माया छपक्कै’ पोस्टर रिलिज, अझै छपिएन रिलिज डेट



रंगखबर, काठमाडौँ – ‘घामपानी’ निर्देशक दीपेन्द्र लामाको आगामी फिल्म ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । रोमान्टिक पोस्टरमा फिल्मका ४ मुख्य कलाकारलाई मात्र अटाइएको छ ।

पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल डोकोमाथि हात राखी कल्पनामा डुबेका छन् । भने, घुम (पश्चिमेली भाषामा स्यांकु) भित्र केकी अधिकारी लुकेकी छन् । पोस्टरले सिनेमाको गाउँले कथाबस्तु प्रस्ट्याउछ । पोस्टर मौलिकपन झल्काउने बनेको छ ।

आश्चर्यको विषय त के छ भने, फिल्मको पोस्टरमा निर्माण टिमले रिलिज डेट हाल्ने हिम्मत जुटाउन सकेको छैन । तर, टिमले दशैँमा रिलिज हुने अड्डी कसिरहेको छ । दशैँ लक्षित गरेर असोज ३ मा ‘कबड्डी कबड्डी कबड्डी’ र असोज १० मा ‘रातो टिका निधारमा’ रिलिज हुँदैछन ।

त्यस्तै असोज १५ मा बलिउडको ‘वार’ र तेलुगु फिल्म ‘साइरा नरसिम्हा रेड्डी’ रिलिज हुने भएपछी ‘छ माया छपक्कै’ले रिलिज डेट तोक्ने हिम्मत जुटाउन सकिरहेको छैन । विशेष स्रोतका अनुसार निर्माणले ‘छ माया छपक्कै’लाई असोज २४ गते रिलिज गर्ने योजना बनाइरहेको छ । तर, मंगलबार सार्वजनिक पोस्टरमा रिलिज डेट नराख्दा ‘छ माया छपक्कै’प्रति प्रश्न उठेको छ । दशैँमा आउने भन्ने मात्रै की हिम्मत पनि जुटाउने ?

दीपक-दीपाको प्रस्तुति रहेको फिल्ममा सुपुष्पा भट्ट र अनुराग कुँवरको पनि अभिनय छ । जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा रोहित अधिकारीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्