विकेन्डमा ‘कबड्डी ३’को नयाँ रेकर्ड, तेस्रो दिनमा पनि करोड माथिको व्यापार



रंगखबर, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले पहिलो तीन दिनको व्यापार नयाँ रेकर्ड राखेको छ । फिल्मले विकेन्डमा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको वितरण कम्पनि ‘स्टेशन ५’ले जानकारी दिएको छ ।

पहिलो दिन १.४७ करोड कमाएको फिल्मको व्यापारमा दोस्रो दिन २१.०८ प्रतिशत वृद्धि भएको थियो । दोस्रो दिनमा १.७८ करोड ग्रस कलेक्सन गर्न सफल भएको भएको फिल्मले तेस्रो दिन १.०७ करोड बटुल्न सफल भयो । शनिबारको तुलनामा आइतबारको कलेक्सनमा ३३.६४ प्रतिशत गिरावट आएको छ । तर, यसलाई राम्रो मान्न सकिन्छ । प्राय: फिल्मको कमाईमा तेस्रो दिनबाट ५० प्रतिशत बढी गिरावट गाउने गर्छ ।

पहिलो तीन दिनको व्यापारमा ‘कबड्डी ३’ले कमाएको यो नै सर्वाधिक कलेक्सन हो । यसअघि ‘ए मेरो हजुर २’ले ३.४३, ‘ए मेरो हजुर ३’ले ३.३९ र ‘छक्का पन्जा ३’ले ३.३७ करोडको अंक पहिलो तीन दिनमा छोएका थिए ।

वर्ड अफ माउथ बलियो भएका कारण ‘कबड्डी ३’ले पहिलो सातामा ७ करोडसम्मको व्यापार गर्ने अनुमान गरिएको छ । फिल्मले विकेन्डमै लगानी रिकभर गरिसकेको छ ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले निर्माण गरेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधरलगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्