‘घामड शेरे’ गीतमा साली-भेना स्वस्तिमा र निश्चल



रंगखबर, काठमाडौँ – निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कुटुमा कुटु’ पछि पहिलो पटक यी दुईले फिल्मको गीतमा कम्मर मर्काएका छन् ।

कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत रहेको ‘साली मन पर्यो’मा प्रदीप लामा (द नेक्स्ट)को कोरियोग्राफी छ । विवाहको गीतमा संगीतकार कालीप्रसाद र अश्मिता अधिकारीको स्वर छ । गीत र कोरियोग्राफी क्याची लाग्छ । त्यसैले फिल्मको हाइप निर्माणमा गीतले महत्वपूर्ण योगदान दिने आश गर्न सकिन्छ ।

हेमराज बिसी निर्देशित ‘घामड शेरे’ वर्षकै प्रतिक्षित फिल्मको सुचीमा छ । यसअघि सार्वजनिक गरिएको फिल्मको पोस्टरले सबैको ध्यान केन्द्रित गरेको थियो । फिल्ममा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयलगायतका कलाकारको पनि अभिनय छ । अभिनेत्री गौरी मल्लको फिल्ममा अतिथि भूमिका रहेको बताइएको छ ।

तिहार लक्षित फिल्म कार्तिक ८ मा रिलिज हुँदैछ । फिल्ममा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । निर्देशक बिसीकै कथा, पटकथा र निर्माण रहेको फिल्मका कार्यकारी निर्माता नरेन्द्र विक्रम बुढा क्षेत्री हुन ।

प्रतिक्रिया दिनुहोस्