मुस्लिम समुदायसँग माफी माग्दै ‘बादशाह जुट’ले टुंग्यायो विवाद



कार्तिक १५ मा रिलिज हुने फिल्म ‘बादशाह जुट’को विवाद टुंगिएको छ । फिल्मको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको थियो ।

संघका गण्डकी प्रदेशका सभापति शाह मोहम्मद मियाँले जारी गरेको उक्त विज्ञप्तिमा फिल्मको ट्रेलरलाई सामाजिक संजालबाट हटाउन निर्देशन दिइएको थियो । संघको विज्ञप्ति जारी भएको दुई दिन पछि आपसी छलफलमा विवाद टुंगिएको छ ।

सोमबार ‘बादशाह जुट’ निर्माण कम्पनि एच एण्ड बी फिल्मस् प्रालिले जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष समिम मियाँ अन्सारीसँगको छलफलमा आवश्यक दृश्य सच्याउने सहमति भएको बताइएको छ । साथै, निर्माण पक्षले सुमदायको चित्त दुखाईप्रति पनि माफी मागेको छ ।

तर, पनि निर्माण पक्षले मुस्लिम समुदायले गरिएका अनुमान सिनेमा रिलिज पश्चात फेल हुने दावी गरेको छ । सेन्सर बोर्डले समेत जाँचपास गरेर पिजी सर्टिफिकेट दिएकाले आफ्नो सिनेमाले कुनै धर्म, जातजाति, समुदायलाई आँच पुर्याउने उद्येश्य नरहेको विज्ञप्तिमा उल्लेख छ ।

ट्रेलरमा ३ सेकण्डदेखि बजेको अजानको अवाज, लगतै ८ औँ सेकेण्डमा देखाइएको हात-हतियार र १३ सेकण्डमा बज्ने आइ.एस.एसको आवाजले मुस्लिम समुदाममा ठेस पुगेको बताइएको छ ।

एच एण्ड बी फिल्मस् प्रालिको विज्ञप्ति

जोनी सिंह रानाले निर्देशन गरेको फिल्मले आफुलाई बादशाह मान्ने दुई युवकको कथा पेस गर्छ । फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।

अभिषेक शशी कुमारको लेखनमा निर्मित फिल्ममा राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।

एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्