बैशाखमा रिलिज तोक्दै ‘हिजो आजका कुरा’ फ्लोरमा



रंगखबर, काठमाडौँ – सन्तोष पन्त र रमा थपलिया स्टारर फिल्म ‘हिजो आजका कुरा’ छायाँकनमा निस्केको छ । प्रि-प्रोडक्सनको काम सकिएपछि बुधबार राजधानीको पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा फिल्मको शुभ-मुर्हुत गरियो । मुर्हुतमा अनुभवी कलाकार सन्तोष र रमाले पहिलो सट दिए ।

३५ दिने छायाँकन तालिका निकालेको फिल्म राजधानी र चितवनमा खिचिनेछ । छायाँकन अगावै फिल्मको रिलिज डेट पनि फिक्स गरिएको छ । आगामी बैशाख १२ गते फिल्म रिलिज गरिने कलाकार पन्तले जानकारी गराए ।

कमेडी फ्यामिली ड्रामामा ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइकेल र अनुष्का अधिकारीको पनि अभिनय रहनेछ ।

विदेश सरोकार राख्ने चार परिवारको मोह, समस्या, संघर्ष र आतुरतालाई फिल्मले प्रस्तुत गर्नेछ ।

टेलिभिजनमा लोकप्रियता कमाइसकेको कारण ‘हिजो आजका कुरा’ दर्शकले रुचाउनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

फिल्ममा निर्देशक साकार र कलाकार पन्तको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छायाँकन र हर्कुलस बस्नेतको संगीत रहनेछ । पन्त फिल्मस प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा अशोक घिमिरेको सह-लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्