MYGG2: पाँच सय कोरससहितको गीत खिच्न लाग्यो सात दिन (फोटोफिचर)



रंगखबर, काठमाडौँ – फिल्म ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीत भव्य रुपमा छायाँकन गरिएको छ । पूजा शर्मा र पल शाह फिचर्ड गीतलाई खिच्नै ७ दिन लागेको निर्देशक सुदर्शन थापाले बताए ।

४५ औँ दिनमा छायाँकन भैरहेको फिल्मको सेटबाट केहि थान तस्विर बाहिरिएका छन् । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायत सुन्दर ठाउँमा खिचिएको गीतमा ५ सय बढी कोरस प्रयोग गरिएको निर्माण पक्षले बताएको छ । सम्भवत: नेपाली गीतमा यति धेरै कोरस प्रयोग गरिएको पहिलो पटक हुनुपर्छ ।

अघिल्लो सुपरहिट शृंखला ‘म यस्तो गीत गाउँछु’मा संगीतलाई सर्वाधिक महत्व दिइएको थियो । त्यसैले यसपटक पनि निर्देशक थापा गीत बलियो बनाउन लागि परेका छन् ।

गीतको बारेमा बोल्दै निर्देशक थापाले भने ‘हामीले चलचित्रका कुनै पनि गीत तथा दृश्यमा संझौता गरेका छैनौ । गीतले मागेको लोकेशन अनुसार नै भिडियो खिचिएको छ ।’ गीतको छायाँकनको लागि केवल तामाङले स्थानीय व्यवस्थापनको जिम्मा लिएका थिए ।

अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । सोनम निर्देशक थापाको अघिल्लो फिल्म ‘सम्हालिन्छ कहिले मन’का मुख्य कलाकार पनि हुन् । सौरभ लामाले खिचेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी भरेका छन् ।

फिल्मको पहिलो प्रचार सामाग्री अन्तर्गत यो गीत सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ । शिवम अधिकारीले लेखेको सिनेमामा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ ।

सांगीतिक प्रेमकथामा निर्माण भैरहेको फिल्म फ्लोरमा गएको ४५ दिन बितिसकेको छ । फागुन २३ गते रिलिज हुने फिल्मको छायाँकन पुरा हुन् अझै १५ दिन लाग्ने बताइएको छ ।

यो फिल्मलाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको फिल्ममा जन्मजय साम्पाङ राइ सह–निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्