‘छ माया छपक्कै’को ५१ दिन पार, दीपक-दीपाको डबल ह्याट्रिक



रंगखबर, काठमाडौँ – असोज २४ रिलिज फिल्म ‘छ माया छपक्कै’ले राजधानीका ६ हलमा ५१ दिने प्रदर्शन पुरा गरेको छ । ५१ दिने प्रदर्शन तय गर्ने वर्षको यो तेस्रो फिल्म हो । निर्देशक प्रदीप भट्टराईको ‘जात्रै जात्रा’ र रामबाबु गुरुङको ‘कबड्डी कबड्डी कबड्डी’ले पनि बक्सअफिसमा ५१ दिन मनाएका थिए ।

दीपेन्द्र लामा निर्देशित फिल्मलाई निर्माण पक्षले वर्षकै ठुलो ग्रसर दावी गरेको छ । तर, अंकमा कलेक्सन सार्वजनिक गर्न सकेको छैन ।

रोहित अधिकारीको लगानीमा निर्मित फिल्मले समिक्षक र दर्शकबाट मिश्रीत प्रतिक्रिया पाएको थियो । निर्माण पक्षले यसपटक समिक्षात्मक रुपमा सफल रहने दावी गरेपनि फिल्म बक्सअफिसमा मात्र बलियो देखियो ।

खाने पानिमाथि हुने राजनीतिलाई उजागर गरेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायतका कलाकारले अभिनय गरेका छन् ।

दीपक-दीपाको डबल ह्याट्रिक

दीपक-दीपा टिमले निर्माण गरेका फिल्मको बक्सअफिस नतिजा लोभलाग्दो छ । ‘६ एकान ६’बाट निर्माणमा अघि बढेको टिमले ‘छ माया छपक्कै’सहित ६ फिल्म रिलिज गरिसकेको छ । र, सबै फिल्मले बक्सअफिसमा ५१ दिने प्रदर्शनको रेकर्ड राखेका छन् ।

‘वडा नम्बर ६’ र ‘छक्का पन्जा’को तीन शृंखला यो सफलता हाँसिल गर्ने फिल्म हुन् । ‘छक्का पन्जा’ले भने १ सय १ दिन नै मनाएको थियो ।

यस्तै दीपक-दीपाको करिअरमा ५१ दिने प्रदर्शन पार गर्ने यो सातौँ फिल्म हो । यी दुईले अभिनय गरेको ‘शत्रुगते’ले पनि ५१ दिन मनाएको थियो ।

‘६’ अंकमा भरोसा गर्ने टिमको सफलताको अंक पनि ६ नै पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्