‘नालापानी’लाई सकारात्मक प्रतिक्रिया



सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा वीर बलभद्र कुँवरको कप्तानीमा लडिएको ऐतिहासिक लडाईमा आधारित फिल्म ‘नालापानी’को विशेष प्रदर्शनी गरिएको छ ।

नेपाली सेनाको मूख्यालयमा भएको प्रदर्शनीमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवं ३ सय बढि नेपाली सेनाका जवानले फिल्म हेरेका थिए ।

फिल्म हेरेपछि प्रधान सेनापति थापाले ‘नालापानी’ले इतिहासलाई बिर्सन नदिने प्रतिक्रिया दिए । ‘हामीले आफ्नो इतिहासलाई बिर्स्यौं भने राष्ट्रलाई पनि बिर्सन्छौँ । यो फिल्मले हामीलाई इतिहास बिर्सन दिँदैन । राष्ट रक्षाको लागि सेनासँग जनताले सहकार्य गर्यौं भने असम्भव केहि पनि छैन । युद्द जित्नलाई हतियारसँगै रणनीतिको पनि समान आवश्यक पर्छ ।’ आगामी दिनमा फिल्मलाई सहयोग गर्ने भन्दै थापाले कुरा टुंग्याए ।

रिमेश अधिकारीको लेखन, निर्देशन र निर्माण रहेको फिल्मलाई महँगो लागतमा निर्माण गरिएको हो । फिल्मको टिजर पनि सार्वजनिक भैसकेको छ । टिजरबाट निर्माण पक्षले सकारात्मक प्रतिक्रिया पाएको थियो ।

सम्वन्धित व्यक्तिसँगको छलफल र अनुसन्धान गरेर फिल्म निर्माण गरिएको निर्देशक अधिकारीले बताएका छन् ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलियालगायतका कलाकारको अभिनय छ ।

निर्देशक अधिकारी र कृष्ण आचार्यको लेखन रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामशरण उप्रेतीको छायांकन, विपिन मल्लको सम्पादन र बसन्त खत्री मगरको भिएफएक्स छ ।

घनेन्द्र थपलिया कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्माता पुजना प्रधान र गणेश कार्की हुन् । फिल्मको रिलिज मिति तय भैसकेको छैन । छिट्टै नै रिलिज डेट पनि तय गरिने निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्