राष्ट्रिय सम्मानका साथ कलाकार भट्टराई र क्षेत्रीको अन्तेष्टि



रंगखबर, काठमाडौँ – स्वर्गीय कलाकारद्वय केशब भट्टराई र दीपक क्षेत्रीको अन्तेष्टि गरिएको छ । सोमबार दिउँसो पशुपति आर्यघाटमा दुवैलाई राष्ट्रिय सम्मानका साथ अन्तेष्टि गरिएको हो ।

                                                                                                                                                            Keshab Bhattrai

भट्टराई र दीपकका छोराले दागबत्ती दिँदा नेपाल प्रहरीको एक टुकडीले दुवैलाई राष्ट्रिय सम्मान दिएको थियो ।

दुई दिन अगाडी कलाकार क्षेत्री सुतेको ठाउँमै मृत अवस्थामा फेला परेका थिए । भने, आइतबार राती चलचित्र बिकास बोर्ड अध्यक्ष र निर्मातासमेत रहेका भट्टराईको निधन भएको थियो ।

अन्तेष्टि अगाडी दुवैको पार्थिव शरीरलाई चाबहिलस्थित चलचित्र बिकास बोर्डको प्रांगणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उप-प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलसँगै सिनेमा क्षेत्रका व्यक्तित्व र परिवारले बोर्ड प्रांगणमा अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

                                                                                                                                                 Deepak Chhetri

भट्टराईलाई श्रद्धाञ्जली दिन सूचना, प्रविधी तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए । साता भित्रै फिल्मका दुई हस्ती गुमाउँदा अहिले यो क्षेत्र नै स्तब्ध बनेको छ ।

सयौँ फिल्ममा अभिनय पस्किएका भट्टराईले तीन दशकको फिल्मी यात्रामा ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ जस्ता चर्चित फिल्म पनि निर्माण गरेका थिए ।

यस्तै थुप्रै फिल्ममा अभिनय गरेका क्षेत्रीलाई प्रतिभाशाली कलाकारको रुपमा लिइन्छ । क्षेत्रीले अभिनय गरेको पछिल्लो फिल्म ‘छ माया छपक्कै’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्