माइनस २६ डिग्री चिसोमा ‘प्रेमगीत ३’ छायांकन



रंगखबर, काठमाडौँ – अहिले पुरै देश चिसोको केन्द्रविन्दुमा छ । धेरै चिसो भएका कारण आम सर्वसाधारणलाई खुलेर काम गर्न पनि असहज भैरहेको छ । तर, फिल्म ‘प्रेमगीत ३’ युनिट मनाङको माइनस २६ डिग्रीमा फिल्म खिच्न व्यस्त छ ।

निर्माण पक्षले हिउँ पर्दा खिचिएका केहि तस्विर पनि सार्वजनिक गरेको । तस्विरले त्यहाँको स्थिति वर्णन गर्छन । निर्माता सन्तोष सेनले २६ डिग्रीको जाडोमा फिल्मको विशेष दृश्य खिचिएको बताए ।

‘हिउँ परिरहेको बेलामा छायांकन गर्नुपर्ने दृश्य भएकाले अलि गाह्रो छ । माइनस २६ डिग्री सेल्सियससम्म पनि टिमले मज्जाले काम गरिरहेको छ । मनाङमा १० दिनको छायांकन सकिँदा कुल ७५ प्रतिशत छायांकन पुरा भैसकेको छ । अगाडी कुनै अप्ठेरो नआएमा लगभग अबको १०-१५ दिन भित्रमा सम्पूर्ण छायांकन सकिनेछ ।’ सेनले भने ।

किर्तिपुरमा तयार गरिएको भव्य सेटमा फिल्मको ४५ प्रतिशत छायांकन सकिएको थियो । अब ५५ प्रतिशत छायांकन मनाङमै हुनेछ । छायांकन लगतै फिल्मको टिम प्रचारमा उत्रने सेनले बताए ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङको शिर्ष भूमिका छ ।  फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको पनि अभिनय छ ।

आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित फिल्म चैत २८ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्