टुँडिखेलमा दशौँ नेफ्टा



रंगखबर, काठमाडौँ – लगातार दुई वर्ष आयोजना नभएको ‘नेफ्टा अवार्ड’ले आफ्नो दशौँ संस्करण घोषणा गरेको छ । फिल्म प्राविधिकको साझा संगठन ‘नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)’ले राजधानीको टुँडिखेलमा अवार्ड आयोजना गर्नेछ ।

कुल ३२ विधामा वितरण हुने अवार्ड समारोह चैत १५ गते आयोजना हुने नेफ्टाका अध्यक्ष पुस्कर लामाले जानकारी दिए । समारोहमा पपुलर फिल्म, पपुलर अभिनेता, पपुलर अभिनेत्री, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि वितरण गरिनेछ ।

यसपटकको अवार्डले ‘नेपाल भ्रमण वर्ष – २०२०’लाई प्रवर्द्दन गर्ने आयोजकले विश्वास लिएको छ ।

अवार्डका पछिल्ला चार संस्करण विदेशी भुमिमा सम्पन्न भएका थिए । त्यसयता दुई वर्ष अवार्डले निरन्तरता पाएन । यसलाई अवार्डमा भित्रिएको विकृतिलाई मुख्य कारण देखाइएको छ ।

नेफ्टासँग यसपटक ‘ड्रिम हाइ नेपाल’ले सहकार्य गरेको छ । ‘ड्रिम हाइ नेपाल’ले देश भित्र थुप्रै कन्सर्ट र कार्यक्रम सम्पन्न गरिसकेको छ । नेफ्टाको ब्रान्ड र विश्वसनियतालाई मध्येनजर गर्दै ‘ड्रिम हाइ नेपाल’ले सहकार्यको हात अगाडी बढाएको संस्थाका प्रमुख  कमल जीसीले बताए ।

अवार्ड घोषणा समारोहमा उपस्थित भएका अभिनेता राजेश हमाल, भुवन केसी र अभिनेती बसुन्धरा भुषाललगायतले नेफ्टा सफलताको कामना गरे । प्रमुख अतिथि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले अब प्रहरीका सकारात्मक कुरा पनि पर्दामा ल्याउनेपर्ने समय आएको बताए ।

प्रतिक्रिया दिनुहोस्