पल र पूजाको ‘दुखको काँडा’



रंगखबर, काठमाडौँ – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘दुखको काँडा’ बोलको रोमान्टिक नम्बरमा पल शाह र पूजा शर्मा फिचर्ड छन् । गीतमा दुवैको केमेस्ट्री खुलेको छ ।

अर्जुन पोखरेलले संगीत भरेको गीतमा ‘द भ्वाइस अफ नेपाल – सिजन २’का प्रतिष्पर्धी सनिश श्रेष्ठको आवाज छ । पार्श्वगायनमा उनको यो डेब्यु हो । गीतको शब्द रचना देवल भण्डारीले गरेका हुन् ।

फागुन २३ मा रिलिज हुने फिल्ममा समावेश ‘तिम्रो घरको वरिपरी’ चार्टबस्टरमा हिट भैसकेको छ । सार्वजनिक नयाँ गीतबाट पनि निर्माण पक्षले सफलता पाउने आशा बोकेको छ ।

शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथामा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

दुई वर्ष अगाडी रिलिज ‘म यस्तो गीत गाउँछु’ हिट भएपछी दोस्रो सिरिज स्वरुप ‘म यस्तो गीत गाउँछु २’ निर्माण गरिएको हो । ‘म यस्तो गीत गाउँछु’को सफलतामा उत्कृष्ट संगीत शृजनाले मुख्य भूमिका खेलेको थियो । त्यसैले निर्माण पक्ष यसपटक पनि राम्रो गीत बनाउन लागिपरेको छ ।

सुदर्शन थापाकै कथामा निर्मित फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्