जेठको गर्मीमा ‘चिसो एस्ट्रे’



रंगखबर, काठमाडौँ – वर्ष २०७६ को तेस्रो त्रैमासिक सकिनै लाग्दा आगामी वर्षको लागि नयाँ फिल्मले रिलिज डेट जुटाउन थालिसकेका छन् । वर्षको सुरुवातमा अहिलेसम्म कुनै पनि फिल्मको रिलिज तोकिएको छैन ।

बैशाख १२ मा ‘लप्पन छप्पन २’ आउने पक्का भैसकको छ । बिहिबार फिल्मको टिजर पनि सार्वजनिक गरिएको छ ।

यस्तै दिनेश पाल्पाली (दिन्श)ले निर्देशन गरेको फिल्म ‘चिसो एस्ट्रे’ जेठ १६ मा प्रदर्शनमा आउने भएको छ । गाउँलेबाट सहरिया बन्न लागिपरेको एक युवाको कथामा फिल्म आधारित छ ।

फिल्मको केन्द्रिय पात्र ‘मदन’को भूमिकामा दिव्य देव छन् । उनकै वरिपरी फिल्मको कथा घुम्ने निर्देशक पाल्पालीले बताए । ‘आधुनिक बन्ने चक्करमा उक्त पात्रले आफूलाई गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’ निर्देशकले भने ।

पाल्पालीले यसअघि निर्देशन गरेको फिल्म ‘बालकृष्ण सम: अनटोल्ड स्टोरी’बाट किम्फसँगै थाइल्याण्ड, क्यालिफोर्निया, चिन आदि देशका फिल्म महोत्सवमा विभिन्न अवार्ड जित्न सफल भएका थिए ।

‘चिसो एस्ट्रे’मा निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठले पनि अभिनय गरेका छन् । फिल्ममा दिन्शले लेखनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा अजर जंगमको संगीत, उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ । निर्माण पक्षले केहि समय अगाडी मुख्य पात्रको परिचयात्मक फस्टलुक पनि सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्