बाह्र वर्षपछि ‘पर्खि बसें’को सिरिज



रंगखबर, काठमाडौँ – गोपीकृष्ण मुभिजले फिल्म ‘पर्खि बसें’को सिरिज निर्माण घोषणा गरेको छ । सन् २००८ मा रिलिज भएको ‘पर्खि बसें’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो ।

पछिल्लो समय गोपीकृष्णले निर्माण गरेका फिल्म लगातार असफल भैरहेका छन् । त्यसैले ‘पर्खि बसें’को ब्राण्डलाई जगाउने धुनमा देखिएको छ । बिहिबार गोपीकृष्णले हिमालयन मुभी स्टूडियोसँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै फिल्म निर्माणको घोषणा गरेको हो ।

यी दुई व्यानरको सहकार्यमा निकिता पौडेल र विनोद सापकोटाले फिल्ममा लगानी गर्नेछन् । फिल्म निर्देशनको जिम्मा भने ‘लभ डायरिज’का निर्देशक सौरभ चौधरीलाई दिइएको छ ।

‘पर्खि बसें’मा निखिल उप्रेती, राजबल्लभ कोइराला र यूना उप्रेतीको मुख्य भूमिका थियो । राजबल्लभ र यूना अहिले अमेरिकामा छन् । भने, निखिल नेपालमै छन् । अहिलेसम्म फिल्ममा कुनै पनि कलाकार तय भैसकेका छैनन् ।

गोपीकृष्णको ‘माइकल अधिकारी’ माघदेखि फ्लोरमा जाँदैछ । चैत २८ मा रिलिज हुने फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठले जोडी बाँध्नेछन् । यस्तै निर्देशक चौधरीको ‘लभ डायरिज’ फागुन २ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्