‘सेल्फी किङ’को मार्मिक गीत, पिडामा डुबे विपीन



रंगखबर, काठमाडौँ – प्रचारका सामाग्रीले माघ २४ गते रिलिज हुने फिल्म ‘सेल्फी किङ’ चर्चामा छ । रिलिजको डेट नजिकिदै गर्दा निर्माण पक्षले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ । स्याड भर्सनको यस गीतले फिल्मको हाइप निर्माणमा कत्तिको सहयोग पुग्छ हेर्न बाँकी छ ।

‘जिन्दगीको के छ र भर’को बोलको गीत मार्मिक छ । विपिन कार्की फिचर्ड गीतले आफन्त गुमाउदाको पिडा झल्काउछ । चल र अचल दृश्यको संयोजन रहेको गीतमा विपिनको अभिनयले मन छुन्छ ।

सुभाष भुसालले संगीत भरेको गीतमा केतन क्षेत्रीको स्वर छ । भने, सुरज गैरे ‘विवस’ले शब्द रचना गरेका छन् । सुभाष र केतनको पछिल्लो सहकार्यमा ‘लै लै’ बोलको गीत हिट भएको थियो । उक्त गीतमा विपिन र अभिनेत्री नम्रता श्रेष्ठको जोडी थियो ।

एक हास्यकलाकारको तीन दिने महोत्वस यात्राको कथा भन्ने फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । फिल्ममा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ ।

दिनेश राउत र सुभाष थापाले निर्माण गरेको फिल्ममा निर्देशक सापकोटाकै कथा छ । सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्