२० करोड बजेटमा ‘गोर्खा वारियर’ बन्ने, कलाकारमा दयाहाङदेखि प्रशान्तसम्म



रंगखबर, काठमाडौँ – पछिल्लो समयका चर्चित निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा फिल्म ‘गोर्खा वारियर’ निर्देशन गर्ने भएका छन् । शुक्रबार फिल्म र लाइनअप सार्वजनिक गरिएको छ ।

२० करोड बढी लागतमा निर्माण हुने फिल्मलाई चाम्सले आफ्नो ड्रिम प्रोजेक्ट बताएका छन् । चाँडै छायांकन सुरु हुने फिल्ममा कलाकारको रुपमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन फाइनल भएका छन् । हलिउड कलाकारको पनि अभिनय रहने फिल्मबाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।

५० प्रतिशत हलिउड प्राविधिक राखेर फिल्म नेपाली र अंग्रेजी भाषामा तयार गरिनेछ । निर्माण भैसकेपछि लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने बताइएको छ ।

नेपाली फिल्मलाई विश्वव्यापी रुपमा चिनाउन लण्डनमा पहिलो पटक डबल टेकर बसबाट अहिलेदेखि नै प्रचार सुरु गरिएको निर्देशक चाम्सले जानकारी दिए । प्रचारमा ५० वटा डबल टेकर बस प्रयोग गरिएकोसमेत उनले बताए ।

यूके, अफगानिस्थान र नेपालमा छायांकन हुने फिल्मको लागि एक अभिनेत्रीको खोजी भैरहेको निर्माण पक्षले बताएको छ । यस वर्ष रिलिज भएको ‘वीर विक्रम २’ पछाडी निर्देशक चाम्सले नयाँ फिल्म निर्माण गर्न लागेका हुन् । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । सिनेमा २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्