चपली हाइट ३: अस्ट्रेलियाको लागि १९ लाखमा विक्री



रंगखबर, काठमाडौँ – हिजोआज देशमा चर्चित नेपाली फिल्मले विदेशबाट राम्रो आम्दानी गरिरहेका छन् । रिलिज नहुँदै प्रचार सामाग्री र चर्चाकै भरमा विदेश राइट्स महँगो मुल्यमा विक्री हुँदा निर्मातालाई हलतिरको जोखिम कम हुन जान्छ ।

साता अगाडी मात्रै चैत २८ मा रिलिज हुने फिल्म ‘प्रेमगीत ३’को नर्थ अमेरिका राइट्स ५१ लाखमा विक्री भएको थियो । यहि मितिमा रिलिज हुने ‘चपली हाइट ३’को अस्ट्रेलिया राइट्स पनि राम्रो रकममा विक्री भएको छ ।

सोमबार बाबा कन्सल्टटेन्सीले फिल्मको अस्ट्रेलिया राइट्स २५ हजार अस्ट्रेलियन डलरमा खरिद गरेको हो । यसको नेपाली मुल्य १९ लाख १८ हजार ५ सय ७२ हुन्छ । फिल्मको ब्राण्ड भ्यालु, चिनिएका अनुहार र प्रचार सामाग्रीको चर्चालाई हेरेर बाबाले अस्ट्रेलिया राइट्सको लागि राम्रो रकम खर्चिएको हो ।

निकेश खड्काले निर्देशन गरेको सस्पेन्स थ्रिलर फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखकलगायातका कलाकारको अभिनय छ ।

आकाश बरालको लेखन र संवाद रहेको फिल्ममा सुभाष भुषाल/अर्जुन कुमारको संगीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन र दिर्घ खड्काको सम्पादन छ । फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्