रंगखबर, काठमाडौँ – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अभियानका लागि निर्माण गरिएको फिल्म ‘सेन्टी भाइरस’ले ९ दिनसम्म ४ करोड माथिको व्यापार गर्न सफल भएको छ ।
कलाकार सिताराम कट्टेल र वितरक गोविन्द शाहीले फिल्मको ९ दिने ग्रस कलेक्सन सार्वजनिक गरेका हुन् । शाहीका अनुसार फिल्मले दोस्रो शनिबारसम्म ४.०८ करोडको व्यापार गर्यो ।
यसमा उपत्यकाबाट २ करोड २० लाख ३ हजार र उपत्यका बाहिरबाट १ करोड ९० लाख ५ हजारको योगदान छ ।
डिन्डू लामा ह्याल्मो र फुर्पा ह्याल्मोले २.८५ करोडको बजेटमा निर्माण गरेको फिल्मले विदेश राइट्सबाट मात्रै १.१५ करोड कमाएको छ । भने, डिजिटल राइट्स ४५ लाखमा विक्री भयो । यसअर्थमा रिलिज अगावै फिल्मले १.६० करोड सुरक्षित गरिसकेको थियो ।
२.८५ करोडमा १.६० करोड कटाउदा १.२५ करोड बच्न आउँछ । यो रकम नेपाली बक्सअफिसबाट उठिसकेको छ ।
निर्माण पक्षले कुल नाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गर्ने घोषणा गरेको थियो । त्यसैले अहिलेसम्म बिभिन्न संघसंस्था, विद्यालय र व्यक्ति विशेषले रंगशालामा सहयोग पुर्याउन हल नै बूक गरेर फिल्म हेरिरहेका छन् ।
अबको व्यापारको रकम रंगशालाको लागि सुरक्षित हुँदै जानेछ । तर, फिल्मले हिटको ट्याग पाउन बक्सअफिसबाटै २.८५ करोड बजेट रिकभर गर्नुपर्नेछ । अनि मात्र सफल फिल्मको सुचीमा अट्नेछ ।
फिल्मले घरेलु बक्सअफिसबाटै लगानी रिकभर गर्न ६ करोड माथिको ग्रस कलेक्सन गर्नुपर्नेछ । यसअर्थमा निर्माताले विदेश, डिजिटल राइट्स जोडेर लगानी रिकभर गरेपनि फिल्म हिट हुन लाइफटाइम कलेक्सन कुर्नैपर्ने हुन्छ ।
रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा सिताराम कट्टेलसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, राजाराम पौडेललगायतको मुख्य भूमिका छ ।