रहेनन् अभिनेता इरफान खान, ५४ वर्षको उमेरमा निधन



बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनि मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका थिए ।

इरफानलाई पेट समस्या थियो । ‘कोलोन इन्फेक्सन’का कारण इरफानले ५४ वर्षको उमेरमा प्राण त्यागेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

दुई वर्ष अगाडी इरफान न्यूरो इंडोक्राइन ट्यूमर नामक रोगबाट ग्रसित थिए । उनि विदेशमा उपचार गरेर रोगमुक्त भएका थिए ।

सन् १९६७ मा जयपुर, राजस्थानमा जन्मिएका इरफानले १९८८ को सिनेमा ‘सलाम बम्बे’बाट डेब्यु गरेका थिए । बलिउडमा प्रतिभाशाली अभिनेताको रुपमा चिनिएका इरफानको पछिल्लो रिलिज ‘अंग्रेजी मिडियम’ थियो । कोरोना त्रासका बीच रिलिज भएको उक्त सिनेमा विकेन्डसम्म मात्र प्रदर्शन हुन् पाएको थियो ।

बलिउडसँगै थुप्रै हलिउड सिनेमामा पनि अभिनय गरिसकेका इरफानलाई सन् २०११ मा पद्माश्री अवार्डद्वारा सम्मानित गरिएको थियो । सन् २०१३ मा उनले सिनेमा ‘पान सिंह टोमर’बाट राष्ट्रिय अवार्डसहित फिल्म फेयरलगायतका थुप्रै अवार्ड जितेका छन् । उनले भारतका ठुला समारोहमा ३२ भन्दा धेरै अवार्ड हात पारेका छन् ।

इरफानले सिनेमासँगै दुई दर्जन बढी टेलीसृंखलामा पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्