बोर्डको कुर्सिमा दयाराम दाहाल, यस्ता छन् प्रतिवद्दता



गत विहिबार चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । सोमबार सूचना तथा सञ्चार मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि उनले बोर्ड पुगेर पदभार ग्रहण गरेका हुन् ।

लकडाउनका बीच सिनेमा क्षेत्रका विभिन्न व्यक्तित्वले बोर्डमै पुगेर अध्यक्ष दाहाललाई बधाई तथा शुभकामना व्यक्त गरे । बोर्डमा सम्पूर्णले सामाजिक दुरी कायम गरेका थिए ।

पदभार ग्रहण गरेपछि अध्यक्ष दाहालले बोर्डमा आफ्नो पहिलो जिम्मेवारी फिल्म क्षेत्रलाई पुन: चलायमान बनाउनु रहेको बताए । फिल्म सम्वन्धित सम्पूर्ण संस्थाहरुको साथ र सहयोगबाट कोरोनाले थला पारेको यस क्षेत्रलाई चलायमान बनाउने कार्य अगाडी बढाउने उनले जोड दिए ।

बोर्डका सदस्यहरुसँग तुरुन्तै बैठक बसेर यो कठिन परिस्थितिमा समग्र फिल्म क्षेत्रको व्यावसायिक पुर्नस्थापनका लागि बोर्डको आन्तरिक स्रोतबाट प्याकेज घोषणा गर्ने पनि अध्यक्ष दाहालले आश्वासन दिए । उनले भने- ‘सबै संघ संस्थाहरुको भावना समेटिने गरि चलचित्र विकास बोर्डको आन्तरिक स्रोतबाट चलचित्र क्षेत्रको पुनःसञ्चालनका लागि प्याकेज घोषणा गर्नेछु ।’

उनले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा फिल्म क्षेत्रका सम्बोधन हुन नसकेका कुरा सरकारसँग माग गर्दै जाने र यो कठिन परिस्थितिको लडाईं साथमा लड्न अपिल गरे । अध्यक्ष दाहालले श्रमजीवि फिल्मकर्मीका योजना, छायांकनका लागि नेपाल अभियान, काठमाडौंभित्र फिल्म स्टूडियो निर्माणको कार्य पनि सम्पूर्ण फिल्मकर्मीसँग मिलेर अगाडि बढाउने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्